मेलबर्न । भारतले नेपालमाथि लगाउँदै आएको नाकाबन्दी विरुद्ध अष्ट्रेलियाका नेपाली समुदायले वृहत प्रदर्शन गर्ने भएको छ ।

एनआरएन अष्ट्रेलियाले शुक्रबार साँझ ५ बजे अष्ट्रेलियाका विभिन्न राज्यमा एकैपटक भारतीय नाकाबन्दी विरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । प्रदर्शनलाई सफल बनाउँन सिड्नीमा नेपाली समूदायका विभिन्न संघ संस्थासँग एनआरएनले छलफल गरेको छ । एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलको सभापतित्वमा सम्पन्न छलफलमा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले सिड्नी लगायत अन्य विभिन्न राज्यहरुमा भारतीय हस्तक्षेप विरुद्ध गर्न लागिएको प्रदर्शनको जानकारी गराउँनुभएको थियो । कार्यक्रमलाई वृहत बनाउँन सहयोगका लागि उपस्थित संघ संस्थाका प्रतिनिधिहरुसँग उहाँले आग्रह गर्नुभएको थियो ।

एनआरएनका युथ कोअर्डिनेटर विजय पोखरेल, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल लगायतले समेत भारतीय नाकाबन्दीले पारिरहेको प्रभाव र अष्ट्रेलियामा हुन लागेको विरोध प्रदर्शनबारे आ आफ्नो धारणा राख्नुभएको थियो ।  कार्यक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष विनोद श्रेष्ठ, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका दिनेश जोशी, नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाका प्रतिनिधि शरद खरेल, नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसनका कोमल पाठक, अगुवाहरु जानकी पौडेल, प्रदिप ढकालले एनआरएनले गर्न लागेको कार्यक्रममा सहभागिता रहने बताउनुभएको थियो ।
जोशी र खरेलले भने भारतको विरोध गरेर मात्र नहुने भन्दै सरकारले यसको जिम्मेवारी लिनुपर्ने बताउँनुभयो । मधेशी दलहरुसँग सार्थक वार्ता गरी नाकाबन्दी हटाउनुपर्नेमा जोड दिदै उहाँहरुले एनआरएनले कुन विषयमा बोल्ने र कुन विषयमा नबोल्ने भन्ने स्पष्ट पार्न माग गर्नुभएको थियो । मधेशमा नेपाली मारिँदा पनि एनआरएन बोल्न आवश्यक भएको उहाँहरुको भनाइ थियो ।

एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले विरोध प्रदर्शनलाई भव्य र सभ्य बनाउनका सचिव भुपाल सिटौलाको संयोजकत्वा १ सय १ सदस्यीय स्वयंसेवक परिचालन कमिटी गठन गरिएको जानाकरी दिनुभयो । शुक्रवार हुने प्रदर्शनको सम्पूर्ण तयारी समेत पूरा भएको उहाँले बताउँनुभयो ।

Comments

comments