काठमाडौं  । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले बुधबार पपुवा न्युगिनीसँग खेल्दैछ । संयुक्त अरब इमिरेट्स युएईको अबुधावीमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

सोमबार पपुवा न्युगिनीसँगै भएको पहिलो खेलमा पराजित भएको नेपाल दबाबमा छ । पहिलो खेलमा नेपाल दुई विकेटले पराजित भएको थियो । यसअघि स्कटल्याण्डमा भएको पहिलो पहिलो चरणका दुई खेलमा पनि नेपाल पराजित भएको थियो । स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल तीन रन तथा दोस्रो खेलमा ९ विकेटले हारेको थियो ।

प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएई, हङकङ, नामिबिया, पपुवा न्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्दैछन् । यी आठ टोलीले हरेक टोलीसँग दुई दुई खेल खेल्नेछन् । सबै खेल सकिएपछि अंक तालिकाको शीर्ष ६ स्थानमा रहने टोलीले सन् २०१९ को विश्वकप छनौट खेल्न पाउने छन् ।

प्रशिक्षक पदबाट राजिनामा दिइसकेका पुबुदु दासानायकेका लागि बुधबारको खेल नेपालको प्रशिक्षकको रुपमा अन्तिम खेल हुनेछ । प्रशिक्षक दासानायकेले बुधबारको खेल जित्न हरसम्भव प्रयास गर्ने र त्यही अनुसार तयारी गरिएको बताएका छन् ।

Comments

comments