महोत्तरी ।  महोत्तरीको गैंडाभेटपुरमा मंगलबार राति तीन वटा मोटरसाइकलमा आगजनी भएको छ । नेपाल–भारत सीमा क्षेत्र नजिक पर्ने गैंडा भेटपुरमा मधेसी मोर्चाका कार्यकर्ताले तीन वटा मोटरसाइकलमा आगजनी गरेका हुन् ।

गाउँबाट टाढा एकान्त ठाउँमा तीन वटा मोटरसाइकल जलेको अवस्थामा फेला परे पनि मोटरसाइकल धनी र मोटरसाइकल नम्बर भने नखुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक भट्टराईका अनुसार प्रत्यक्षदर्शीले मोटरसाइकलमा आगजनी भएको जानकारी दिएपछि प्रहरी राति नै घटनास्थलमा पुगेको थियो । तर रातिको समय भएकाले कसैलाई पक्राउ गर्न नसकिएको उहाँले बताउनुभयो ।

भारतबाट पेट्रोलियम पदार्थ लिएर आउँदै गर्दा मोटरसाइकलमा आगजनी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । भारतीको नाकाबन्दी सुरु भएपछि गैंडाभेटपुर नजिकको सम्सी नाका हुँदै भारतीय बजारबाट मोटरसाइकल र साइकलमा पेट्रोलियम पदार्थ ल्याउने क्रम बढेको छ ।

Comments