काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हाँस्यव्यंग्य टेलिसिरियल ‘तीतो सत्य’को प्रसारण बन्द भएको छ । ‘तीतो सत्य’का मुख्य कलाकार तथा निर्देशक दिपकराज गिरीले फेसबुकमार्फत टेलिफिल्म बन्द भएको जनाएका छन् ।

‘६ सय भागसम्म निरन्तर प्रसारण भइरहेको नेपालकै सबैभन्दा लामो हास्य धाराबाहिक ‘तीतो सत्य’ अब नेपाल टेलिभिजनमा प्रसारण हुने छैन,’ उनले आफ्नो फेसबुकमा लेखेका छन् । दर्शकलाई सधैँ नयाँ स्वाद दिन नसकिने भन्दै उनले लेखेका छन्, जबरजस्ती कार्यक्रमलाई टिकाइरहनु भन्दा पछाडि हट्नु नै उपयुक्त ठानी यो १२ वर्षे यात्रालाई पूर्णविराम दिने निर्णय गरेका छौं ।

केही समयदेखि ‘तीतो सत्य’ का पूरानै भागहरु प्रसारण हुँदै आईरहेको थिए। लामो समयदेखि ‘तीतो सत्य’ सहित मिडिया हबबाट प्रसारित अन्य हास्य टेलिसिरियल कलाकारले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका थिए ।

अबको समयमा दिपकराजले नयाँ काम गर्ने बताएका छन् । उनि सहितका हास्यव्यंग समुहले चलचित्र निर्माण गरेर सफलता पनि पाएका छन् । उनिहरुले छ एकान छ र वडा नम्बर छ निर्माण गरेका थिए जुन व्यावसायिक रुपमा सफल भएका थिए ।

‘भविष्यमा पनि फेरि नयाँ सोचका साथ हास्य धाराबाहिक तथा फिल्म निर्माणलाई निरन्तरता दिने नै छौं,’ दीपकले लेखेका छन् ।
नेपालमा सबैभन्दा लामो समय प्रसारण भएको टेलिश्रृङखला तितो सत्यले छ सय भाग पुरा गरेको छ ।

Comments

comments