मेलबर्न  । भारतले लगाएको नाकाबन्दीको विरोधमा अष्ट्रेलियामा रहेका नेपालीहरु पनि आन्दोलित बनेका छन् ।  नाकाबन्दीको विरोधमा एनआरएन अस्ट्रेलियाले यहि हप्ता विरोध कार्यक्रमको आयोजना गर्दैछ ।

एनआरएन अस्ट्रेलियाले पहिलो चरणमा भारतले नेपाल बिरुद्ध गरेको अमानवीय नाकाबन्दीको बिरोध गर्न एनआरएनएले अस्ट्रेलियाका सबै नेपाली समुदायसँग समन्वय गर्दै अस्ट्रेलियाको सबै स्टेटहरुमा नोभेम्बर २० मा शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने भएको छ ।

सोही अन्तर्गत सिड्नीको मार्टिन प्लेसमा शुक्रबार प्रवासी नेपाली समुदायले शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने एनआरएन अस्ट्रेलियाका सचिव टोनु गोथानेले बताए।

पहिलो चरणको बिरोध प्रदर्शन पछि दोस्रो चरणको कार्यक्रममा भारतीय राजदूतावास लगायत सम्बन्धित अन्य कुटनीतिक नियोग र निकायहरुमा बिरोध पत्र बुझाई सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको सचिव गोथानेले सेतोपाटीलाई बताए।

यस्तै भारतले नेपाल बिरुद्ध गरेको अघोषित नाकाबन्दीको बिरोध गर्दै सबै स्टेटमा भारतीय राजदूताबास, क्यानबेरा लगायत सम्पूर्ण स्टेटमा रहेका भारतीय महाबाणीज्यदूताबासको कार्यालयमा बिरोध पत्र बुझाउने निर्णय समेत एनआरएन अस्ट्रेलियाले गरेको छ ।

विरोधलाई प्रभावकारी पार्न एनआरएनले अस्ट्रेलियन सरकारको विदेश मन्त्रालय र अस्ट्रेलियाको विभिन्न राजनीतिक संस्थाहरुलाई अघोषित नाकाबन्दीको जानकारी दिँदै ध्यानाकार्षण पत्र बुझाउने कुरा कोषाध्यक्ष डिला खरेलले जानकारी गराए।अन्तमा संयुक्त राष्ट्र संघको नियोग, एम्नेस्टी इन्टरनेसनल, रेडक्रस लगायतका विभिन्न संस्थाहरुलाई भारतले नेपाल बिरुद्ध गरेको नाकाबन्दीको जानकारी दिदै ध्यानाकार्षण पत्र बुझाउने भएको छ।

आफूलाई प्रवासका बिश्वासिलो साझेदार भनिरहँदा कर्मले भने मुखको बोली टिप्न नसकेता पनि केहि देशमा भने एनआरएनले खुलेरै विरोधको कार्यक्रम हुँदा अन्तराष्ट्रिय दबाब श्रृजना भएको देखिन्छ।

Comments

comments