काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि कुहिरो लागेको छ । कुहिरोका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको छ । मौसमविद् मिनप्रसाद अर्यालका अनुसार अहिले सापेक्षिक आद्रता अर्थात हावामा पानीको मात्रा ९८ प्रतिशत छ ।

हावामा पानीको मात्रा बढी भएको बेलामा कुहिरो लाग्ने उहाँले बताउनुभयो । सापेक्षिक आद्रता ९० प्रतिशत भन्दा माथि पुगेपछि कुहिरो लाग्ने उहाँले बताउनुभयो  । हवाई उडानका लागि ३ हजार मिटर भन्दा माथिको भिजिबिलिटी आवश्यक पर्नेमा अहिलेको भिजिबिलिटी १५ सय देखि २ हजार मिटरमा झरेको छ ।

बिहान ९ बजेपछि भिजिबिलिटीमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सोमबार देशको पूर्वी क्षेत्रको मौसम सामान्य बदली भएको छ भने पहाडी भेगमा बादल लागेको महाशाखाले जनाएको छ ।

सोमबार डडेल्धुरा र जुम्लाको तापक्रम माइनसमा झरेको छ । यी दुई ठाउँको न्यूनतथम तापक्रम माइनस ० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

Comments