बारा । विगत डेढ महिनादेखि नेपाल भारत सिमामा जारी अघोषित नाकाबन्दीले पथलैया वीरगञ्ज औद्योगिक करिडोरका अधिकांश उद्योग कलकारखाना बन्द भएका छन् । कच्चा पदार्थ र ईन्धन आपूर्ति ठप्प हुँदा यस करिडोरमा सञ्चालित उद्योग धन्दा बन्द गर्न सञ्चालकहरु बाध्य भएका हुन् ।

करिडोरकै ठूलो मध्येको एक जगदम्वा स्टिल प्रालिले आफ्ना सवै उत्पादन बन्द गरेको जनाएको छ । उद्योगका प्रमुख पवनवावु अग्रवालले कच्चा पदार्थको अभाव र निरन्तरको बन्द हडतालले उद्योग बन्द गर्न बाध्य भएको बताउनु भयो ।

हुलास स्टिलले पनि विगत एक महिनादेखि आफ्नो उत्पादन बन्द गरिसकेको छ भने हामा स्टिलले मधेश आन्दोलन लगत्तै आफ्नो उत्पादन बन्द गरेको थियो । आवश्यक सम्पूर्ण कच्चा पदार्र्थ छिमेकी मुलुक भारतमा निर्भर रहनुपर्ने वाध्यताले यो अवस्था आएको बताउछन् हुलास स्टिल प्रालिका प्रशासन प्रमुख जे.एल. आर्या ।

यता नेपालकै उद्योगहरुमध्ये बढि राजस्व बुझाउने सूर्य नेपाल प्रालि. ले पनि आफ्ना केही  ब्राण्ड बन्द गराई सकेको छ । देशभर रहेका कूल उद्योगधन्दा मध्ये पथलैया वीरगञ्ज औद्योगिक करिडोरमा मात्रै ४० प्रतिशत उद्योग रहेका छन् । जहाँ झण्डै १० हजार मजदूर कार्यरत छन् । अधिकांश उद्योगमा नो वर्क नो पे को सिद्धान्त लागू भएका कारण चाडवाडको मुखैमा मजदूरहरु अलपत्र परेका छन् ।

यता २ महिनादेखि लगातारको बन्दले धराशायी बनेको औद्योगिक क्षेत्र निर्वाध सञ्चालनका लागि अपिल गरेको भए पनि सरकारले गम्भीर रुपमानलिएको उद्योग वाणिज्य संघ बाराका महासचिव राजकुमार साहको आरोप छ । तर यता जारी राजनीतिक समस्याको हल गरी उद्योग खुलाउन र बन्दका कारण व्यहोरेको क्षतिलाई सरकारले हेर्नुपर्ने उद्योगीहरु बताउछन्। मुलुकको अर्थतन्त्रसँग सिधै जोडिएको उद्योग धन्दा ठप्प हुँदा सिंगो देशमा नै आर्थिक संकट पर्न थालेको छ  ।

Comments

comments