काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाले भारतको केरलामा हुने आसन्न साफ च्याम्पियनशीप फुटवलका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक एसम्सको सिफारिसमा ३९ मध्येबाट २७ जनालाई राष्ट्रिय टोलीमा समावेश गरिएको हो ।

एन्फाले बुधबार सार्वजनिक गरेको २७ सदस्यीय टोलीमा लामो समयदेखि टिममा रहेका भेट्रान स्ट्राइकरह्ररु सन्तोष साहुखल र जुमानु राईको नाम समावेश छैन । ३९ मध्येबाट ४ जना चोटग्रस्त रहेका र आठ जनाले प्रशिक्षण नपुगेका कारण टोलीमा समावेश नगरिएको एन्फाले जनाएको छ । २७ जनाको टोलीमा गोलकिपरहरु किरणकुमार लिम्बु, बिकेश कुथु र अमृत चौधरी छन । त्यस्तै डिफेण्डरहरुमा रञ्जीत धिमाल, रविन श्रेष्ठ, देवेन्द्र तामाङ, जीतेन्द्र कार्की, अनन्त तामाङ, आदित्य चौधरी, बिराज महर्जन र अजित भण्डारी छन । त्यस्तै घोषित टोलीको मिडफिल्डरहरुमा जगजीत श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, राजेन्द्र रावल, शिव श्रेष्ठ, बिक्रम लामा, बिशाल राई, योगेश गुरुङ टंक बस्नेत र नविन लामा छन । त्यस्तै स्ट्राइकरहरुमा अन्जन विष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, बिमल घर्तीमगर, कर्ण लिम्वु र भरत खवास छन । टोलीमा समावेश खेलाडीहरुले तिहार लगत्तै प्रशिक्षण सुरु गर्नेछन ।

एन्फाले करिव एक महिना देखि ३९ जना फुटवल खेलाडीहरुलाई सुरुवाती प्रशिक्षणको लागि बोलाएको थियो । यसैबीच खेल मिलेमतोको आरोपमा बिशेष अदालतमा मुद्धा परेका तीन खेलाडीहरु साफ च्याम्पियनशीपको टोलीमा समावेश छैनन् । मुद्धाको किनारा नलागेसम्म उनीहरुलाई राष्ट्रिय टोलीमा समावेश नगराउने एन्फाले जनाएको छ । भारतको केरलामा आगामी पौष आठ गतेदेखि नवौं साफ च्याम्पियनशीप फुटवल हुनेछ ।

Comments

comments