मेलबर्न । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको रौनकताले सात समुद्रापारि अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई पनि छोएको छ । नेपालभन्दा टाढा रहेर पनि आफ्नो संस्कृतिलाई हृदयभरि राख्दै  आएका यहाँका नेपाली समुदायले तिहारको अवसरमा दीपावली गर्नुको साथै देउसी र भैलो समेत खेल्दै आएका छन् । यसैक्रममा यो वर्षको तिहारको अवसरमा मेलबर्न र पर्थ लगायतका राज्यहरुमा नेपालीहरुले देउसी भैलो खेलेका छन् ।

आगामी दुई वर्षभित्र पर्थमा भव्य पशुपतिनाथ मन्दिर र बौद्धनाथ स्तुपा निर्माण गर्नका लागि देउसी भैलो खेली आर्थिक संकलन गरिएको छ । गत एकवर्षअघिबाट सुरु गरिएको यो अभियान यतिबेला तिव्रताका साथ चलिरहेको छ । यसका लागि पर्थमा रहेका २ सय घरधुरी नेपालीहरुकोमा पुगी देउसी भैलो खेल्ने कार्यक्रम चलिरहेको छ । स्थानीय समुदायका अगुवाहरुको पहलमा एक वर्षअघि सुरु गरिएको अभियान अन्तर्गत अर्को वर्ष जग्गा खरिद गर्ने र त्यसको एक वर्षमा मन्दिर बनाउने कार्य सम्पन्न हुने पर्थको नेपाली समूदायका अगुवा भैरव ढकालले बताउँनुभयो । झण्डै ५ मिलियन डलरमा बन्ने पशुपति मन्दिर र बौद्धनाथ स्तुपाको निर्माणमा नेपालबाटै कालीगढ ल्याएर बनाउने योजना रहेको बताउँदै अहिले यसका लागि चाहिने काठका टुंडाल लगायतका सामग्री नेपालमा बनिरहेको ढकालले जानकारी दिनुभयो ।  मन्दिर र स्तुपाको साथमा उक्त स्थानमा सामूदायिक हल समेत बनाउँने समितिको योजना छ । गत साता दुई दिन खेलिएको देउसी भैलो कार्यक्रमबाट ७ हजार डलरभन्दा बढी आर्थिक संकलन भइसकेको समितिले जनाएको छ ।

deusi 1यता मेलबर्नमा पनि देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । मेलबर्न देउराली परिवारले आयोजना गरेको कार्यक्रममा उल्लेख्य नेपालीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुले उक्त देउसी भैलो कार्यक्रमले नेपालको सम्झना झनै ताजा बनाएको बताए । जहाँ रहे पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जोगाइराख्नुपर्छ भन्ने सन्देश दिन देउसी भैलो कार्यक्रम आयोजना गरिएको आयोजकले बताए ।

deu3

Comments

comments