काठमाडौँ  । तिहारको तेस्रो दिन बुधबार धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिँदैछ । घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ ।

यसै विश्वासका कारण बेलुका घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ । घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ ।

लक्ष्मी पूजाको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि दैउसी, भैलो खेल्ने परम्परा छ । लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने चलन केही ठाउँमा भएपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजाको विधान शास्त्रमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार गाई, गोरु र गोबद्र्धन पूजा भोलि हो ।

आजैका दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा एक सय सातौँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइन्छ । १९६६ कात्तिक कृष्ण औँसी अर्थात् आजैका दिन महाकवि देवकोटाको जन्म भएको थियो ।

लक्ष्मी पूजाका दिन जन्मिएकाले नै उहाँको नाम लक्ष्मीप्रसाद राखिएको थियो । यस अवसरमा विभिन्न साहित्यिक संस्थाले विविध कार्यक्रम आयोजना गरी देवकोटा जयन्ती मनाउने गर्दछन् ।

Comments