काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्नि साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

देवकोटाको जन्म विसं १९९६ कात्तिक कृष्ण औंसीका दिन अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरदेखि नै साहित्य रचना सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक मानिने देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।  तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अद्भुत क्षमता थियो ।
उनले खण्डकाव्य मुनामदनले नेपालमा धेरै बिक्री भएका साहित्यिक कृतिहरूको सूचीमा अग्र स्थानमा बनाएको कीर्तिमान अहिले पनि कायमै छ । यस खण्डकाव्यलाई पाठकले विशेष मन पराएका छन् । मुनामदन देवकोटाका पनि प्रिय सिर्जना थियो ।

नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत देवकोटाको महत्वपूर्ण योगदान छ ।

विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपाली भाषालाई नेपाल राज्यभर अनिवार्य विषयका रूपमा लागू गराउनु, त्रिभुवन विश्वविद्यालयलाई कीर्तिपुरमा जग्गाको व्यवस्थापन गर्नु र २०१४ साल असार ९ गते हालको नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु उनका अविस्मरणीय योगदान मानिन्छ ।

उनको साहित्यिक प्रतिभा, साहित्यको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अविस्मरणीय मानिन्छ ।

Comments

comments