काठमाडौँ  । नेपाल आयल निगमले मंगलबारबाट निजी र सार्वजनिक सवारीसाधनलाई इन्धन उपलब्ध नगराउने भएको छ ।

निगमले सोमबार सुरक्षा निकायबाहेकका सवारीसाधनलाई इन्धन दिन नसक्ने निर्णय गरेको हो । नियमित तथा वैकल्पिक मार्गबाट इन्धन नआएको र थोरै भएको मौज्दात पनि सकिएकाले सुरक्षा निकायबाहेक अन्य सवारीलाई इन्धन दिन नसकिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए ।

‘हामीसँग मौज्दात इन्धन छैन, थोरै भएको मौज्दात सेक्युरिटीका लागि राख्छौँ,’ उनले भने, ‘आज (सोमबार) सम्मको विषम परिस्थिति र आपत्का वेलासम्म हामीले इन्धन आपूर्ति गर्न सक्यौँ, अब सक्ने अवस्थामा छैनौँ ।’

निगमका निर्देशक मुकुन्द घिमिरेले पाँच दिनयता भन्सार छुटेर एउटा पनि इन्धन बोकेका ट्यांकर नआएको र मौज्दात पनि सकिएकाले अप्रिय निर्णय लिनुपरेको बताए । ‘हामीसँग तेल छैन, भन्सार छुटेर पाँच दिनयता ट्यांकर आएका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा सबै सवारीसाधनलाई इन्धन दिन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका हौँ ।’

Comments