“दुबईमा खलिफा टावर बनाउन फेरि पनि कामदार मागेको छ रे | तारा मैले पनि विदेश जाने विचार गरें | कमाएर केहि बचाउन सकें भने तिम्रो औषधि खर्च छोराको बोर्डिंग स्कुल पढ्ने रहर अनि घरको ऋण समेत तिरिन्छ नि  ! “ परिवारको गरिबी मेट्न खाडी मुलुक मजदुरी गर्न पुगेकी तारा कामगर्ने क्रममानै दुर्घटनामा परि खुट्टा समेत गुमाई घर फर्के पछि ऋणकै भारी हटाउन फेरी खाडी जाने सपना पालेका लक्ष्मीनारायणको यो अभिव्यक्ति थियटर भिलेज , लाजिम्पाटमा शनिबार मन्चन भएको नाटक “खलिफा टावर” को एक सम्बाद हो | श्रमका लागि  विदेशिनु को पिडा बुझ्दा बुझ्दै पनि त्यो जोखिममा होमिन खोज्ने आफ्नो लोग्नेलाई रोक्न बिष सेवन गरि प्राण त्याग्ने ताराको वियोगान्त कथा नाटक “खलिफा टावर”को सार हो | परिवारको गरिबी मेट्ने अन्तिम विकल्प बैदेशिक श्रम नै हो भन्ने सपना पालेका कयौं आम नेपाली नागरिकको पारिवारिक व्यथा हो यो ” खलिफा टावर” |

DSCF6020

खाडी मुलुकका जोखिमपूर्ण श्रम बजार र त्यहाँ  पुग्ने नेपाली महिला कामदारले भोग्नु पर्ने, कार्यस्थलमै हुने रोजगार दाताको दुर्ब्यबहार, ज्ञान सीप भाषागत क्षमताको कमीका कारण आउने समस्या अनि, आर्थिक अभावको  कारुणिक यथार्थतालाई टपक्कै टिपेर रंगमन्चमा उतार्न सफल छ “खलिफा टावर” | निरु त्रिपाठीको लेखनमा निर्देशक प्रेम पौडेलको परिकल्पना अनि लोक दृष्टि थिएटरका कलाकारहरुको जीवन्त अभिनयले दर्शकहरुको आँखा एकपटक पक्कै रसाउँछ | आफ्नै घर छिमेक र गाउँघरमा भोग्दै र देख्दै आएको यथार्थ घटना सँग प्रत्यक्ष मिल्दोजुल्दो दृश्य नाटकले समेटेको पाएको नाटक हेरी सकेपछि सहभागी दर्शकले भने | अघिल्लो वर्ष सर्वनाम थिएटरमा प्रस्तुत गरिएको नाटक “खलिफा टावर” मन्चन गर्नुको उदेश्य यो पटक मनोरन्जनका लागि मात्रै थिएन | नाटकको कथा संग मिल्दो जुल्दो पिडा भोगेको जिल्ला रसुवाको दुर्गम गाउँ यार्सा स्थित नारायण माविमा पुस्तकालय स्थापनाका लागि यस नाटकको  च्यारिटी मन्चन फिनिक्स कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरुले गरेका हुन् ।

DSCF6120

पाठ्यक्रमकै पुस्तक समेत समयमा नपाउने नारायण माविका बिद्यार्थीले यसपटक पनि एसएलसी उतिर्ण गर्न सकेनन् | प्राविको दरवन्दीमा रहेका शिक्षकले माध्यमिक तह पढाउन बाध्य छन् | घर देखि बिद्यालय सम्मको दुरी निकै टाढा छ | निजिश्रोतमा पालिएका शिक्षक समयमा तलब समेत पाउदैनन् | विद्यालयमा शैक्षिक आधारभूत शैक्षिक सामग्री समेत जुटाउन नसकिएको स्थिति छ | यो सबै यथार्थ सँगै परिवार छाडेर  सबै भन्दा बढि खाडी मुलुक पुग्ने  नेपाली महिलाहरुको संख्या भएको जिल्ला पनि रसुवानै हो | नाटक मन्चन पछि आफ्नो जिल्लाका शैक्षिक बिडम्बना जिल्ला शिक्षा कार्यालय रसुवाका प्रतिनिधि एबं श्रोत व्यक्तिले यसरी सुनाई रहँदा उपस्थित दर्शकहरु मौन रहे |

आफ्ना स्कुले उमेरका बालबच्चा समेत छाडेर विदेशिने धेरै बाबुआमा र तिनैको यथार्थ सँग मिल्दो जुल्दो कथा बोकेको  नाटक “खलिफा टावर” मन्चनबाट संकलित रकम नारयण माविमा एक पुस्तकालय  र सानो कम्प्युटर ल्याब समेत खोल्न सहयोग पुग्छ भन्ने सोचका साथ फिनिक्स कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरुलको सक्रियतामा गरिएको उदहारणीय प्रयास सह्रानीय रहेको सहभागी हरुले बताए  | युवा विद्यार्थी शैलेश लामिछानेको संयोजनमा सल्लाहकार विप्लव सुबेदी लगायत बिभिन्न संघ संस्था सँग आवद्ध महानुभावहरुको प्रत्यक्ष सहयोगमा असार २८ गते तीन शो नै हाउसफुल हुने गरी सम्पन्न भएको “खलिफा टावर”को मन्चनले अपेक्षाकृत आर्थिक संकलन भएको संयोजक लामिछानेले बताउनु भयो | यो एउटा  सुरुवात भएको र  यस्तै सामजिक विकास अनि सहयोगका क्रियाकलापमा अरु पाइला चल्ने अठोट आयोजकले ब्यक्त गरेका थिए |  नाटक खलिफा टावरका चरित्र पात्र   (लक्ष्मीनारायण) अनिल काफ्लेले लोकदृष्टि थिएटरले रंगमन्च मार्फत लोकसंस्कृतिक धरातलकै कथामा आधारित रहेर समाज परिवर्तनका निम्ति सामाजिक सचेतना फैलाउने उदेश्य बोकेको प्रष्ट पार्नु भएको थियो | साथै ग्रामिण बालबालिकाका निम्ति रंगमन्चमाकै माध्यमबाट पुस्तकालय निर्माणमा योगदान दिन पाउनु अत्यन्त खुसीको कुरा भएको उहाँले बताउनुभयो | नाटकमा अनिल काफ्ले, राजेश पुडासैनी, जीवन अधिकारी, नवीन चौहान, कामना काफ्ले, एना धौजालगायतले अभिनय गरेका थिए।

Comments

comments