काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको प्रवक्तामा अष्ट्रेलियाकी रञ्जु थापालाई प्रस्तावित गरिएको छ । लामो समयदेखि एनआरएन अष्ट्रेलियामा क्रियाशील थापालाई अध्यक्ष शेष घले आफैंले प्रवक्तामा प्रस्तावित गरेका हुन् ।

हालै बसेको एनआरएन पदाधिकारीको बैठकमा अध्यक्ष घलेले क्रियाशील व्यक्तित्वहरु नछुटुन् भन्ने उद्देश्यले थापालाई प्रस्ताव गरेका थिए । यसमा केही पदाधिकारीहरुको भने असन्तुष्टी रहेको बुझिएको छ । केही पदाधिकारीले भर्खरै निर्वाचन सकिएको अवस्थामा निर्वाचनबाट पराजित उम्मेद्वारलाई ल्याउँदा राम्रो सन्देश नजाने प्रतिक्रिया दिएका थिए । तर, अध्यक्ष घलेले आफ्नो तर्फबाट प्रस्ताव गरिएको र यसलाई आगामी नोभेम्बर १४ तारिखमा हुने पूर्ण बैठकमा अनुमोदनका लागि लैजाने तयारी गरेका छन् ।

थापाले आफूलाई स्वयं अध्यक्ष घलेले नै प्रस्ताव गरेको पुष्टि गर्दै काम गर्नका लागि खासै पद नै नचाहिने भए पनि अध्यक्षज्यूको प्रस्ताव नकार्न पनि नसकिएको बताइन् । एनआरएनको अभियानमा महिला सहभागितालाई जोड दिँदै आएकी थापाले सातौं विश्व सम्मेलनमा महासचिव पदमा उम्मेदवारी दिए पनि पराजित भएकी थिइन् ।

एनआरएन सम्मेलनभन्दा केही साता अघि नै नेपाल आएकी थापा यतिबेला नेपालमै छिन् । तिहार पछि मात्र भारत हुँदै अष्ट्रेलिया फर्कने कार्यक्रम रहेको उनले बताइन् । थापा प्रवक्तामा नियुक्त भए उनी पहिलो एनआरएन महिला प्रवक्ता बन्नेछिन् ।

Please follow and like us:

Comments