काठमाडौं । कप्तान कसलाई बनाउने भन्ने बिषयमा पदाधिकारीबीच विवाद भएपछि नेपाल क्रिकेट संघ क्यानले ढिलो गरी युएइ जाने अन्तिम टोलीको घोषणा गरेको छ ।

क्यानका एक थरी पदाधिकारीले पारसलाई कप्तानबाट हटाउनुपर्ने अडान राखेपछि क्यानले खेलाडीको नाम युएइ जाने एकदिन अघि मात्र सार्वजनिक गरेको हो । बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्युगिनीसंगको खेलका लागि नेपाली टोली मंगलवार युएइ प्रस्थान गर्दैछ । क्यानले युएइ टुरका लागि पारस खड्काकै कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानका कार्यबहाक अध्यक्ष दिपक कोइरालाले केही पदाधिकारीले पारसलाइ कप्तान बनाउन नहुने धारणा राखेपनि यो अहिले संभव नभएको जानकारी दिए ।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुवुदु दशानायकेले भने एक साता अघिनै पारस खड्काको कप्तानीमा १६ खेलाडीको नाम क्यानलाई दिएका थिए । पपुवा न्युगिनीसंगको खेलसंगै सुबास खकुरेल पुन टिममा फर्किएका छन् । छनौट भएका अन्य खेलाडीमा ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, अनिल मण्डल, सोमपाल कामी, करण केसी, महेश क्षेत्री, मेहबुब आलम, शरद भेषवाकर, पृथु बास्कोटा, इरसाद अहमद, नरेश बुढाऐर र विक्रम सोब रहेका छन् । चोटका कारण थलिएका पृथुले पनि लामो समयपछि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

नेपालले नोभेम्बर १६ र १८ मा युएइमा पपुवा न्युगीनीसंग प्रतिस्पर्धा गर्दैछ । त्यसअघि नेपालले नोभेम्बर ८ मा टेस्ट खेल्ने राष्ट्र पाकिस्तानसंग अभ्यास खेल खेल्नेछ ।

Comments