–बुद्धि शर्मा ।

नेपालको राजनीतिक इतिहासमा दौरा सुरुवालको पनि लामो र गज्जवको इतिहास छ । सरकारी वा निजी दुवै स्तरवाट औपचारिक वा अनौपचारिक पोशाककोलागि यसको प्रयोग हुँदै आएको थियो । राष्ट्रिय पोशाकको मान्यतालाई पार्टीगत असहमति राख्दै आएको एकिकृत माओवादीकातर्फवाट नवनिर्वाचित उपराष्ट्रपति बनेका नन्दबहादुर पुनले सपथ ग्रहणको अवसरमा दौरा सुरुवालको प्रयोग गरेपछि यो पुनः वहसको विषय बनेको छ ।

आईतवार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवासमा भईरहेको नवनिर्वाचित उपराष्ट्रपति नन्दकिशोर पुनको सपथ ग्रहणको प्रमुख आकर्षण पुन हुनु स्वभाविकै थियो । तर त्यो भन्दापनि समारोहमा सहभागि तथा टेलिभिजन हेरिरहेका दर्शकहरुको ध्यानचाहिँ पुनले लगाएको पोशाकतर्फ तानिएको थियो । पुन संलग्न पार्टीका नेताहरुले अस्वीकार जस्तै गर्दै आएको दौरा सुरुवाल, ढाका टोपीमा सजिएका पूर्व माओवादी कमान्डार पुन निकै आर्कषक देखिन्थे ।

तत्कालीन नेकपा माओवादी र हालको एकिकृत माओवादीका नेताहरुले राष्ट्रिय पोशाककोरुपमा दौरा सुरुवाललाई अस्वीकार गरेका थिए । पार्टी सरकारमा हुँदा दौरा सुरुवाललाई औपचारिक पोशाककोरुपमा अस्वीकार गर्ने र राष्ट्रिय पोशाकको विकल्प पनि दिन नसकेको भन्दै दुवै माओवादी सरकारको कठोर आलोचना भएको थियो । त्यसमाथि विदेश भ्रमणमा सरकारको नेतृत्वगरी जाँदा झालेमाले पोशाक प्रयोग भएको भन्दै सर्वसाधारणहरुले माओवादी सरकारको आलोचना गर्दै आएका थिए । एकिकृत माओवादीकोतर्फवाट बावुराम भट्टराईको नेतृत्वमा बनेको तत्कालीन सरकारले दौरा सुरुवाललाई राष्ट्रिय पोशाकको मान्यताबाट हटाउने औपचारिक निर्णय गरेको थियो । विकल्प नदिई हटाएको भन्दै उनले जनस्तरबाट खुवै आलोचना समेत खेपेका थिए ।
एकिकृत माओवादीको तर्फवाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने विदेश भ्रमणमा जाँदा तथा यदाकदा दौरा सुरुवाल लगाउने गरेका छन् ।

दौरा सुरुवाललाई एकिकृत माओवादी लगायतका केही दलहरु तथा राजनीतिक फाईदाकालागि हिँडेका समूहले एउटा निश्चित समुदायको पोशाक भन्दै विरोध गर्दै आएका थिए । तर विश्वकै पुरानो मुलुक नेपालको इतिहास हेर्दा दौरा सुरुवालको प्रयोग धेरै समुदायले गर्दै आएको पाईन्छ । यद्यपी यसको वनावट र संरचनामा जाति र समुदायपिच्छे केही फरक फरकपन भने पाईन्छ ।

पूर्व माओवादी कमान्डार रहिसकेका उपराष्ट्रपति पुनले यसरी दौरा सुरुवाल लगाएर सपथ ग्रहण गर्लान भनेर कसैले पनि सोचेका थिएनन् । तर भईदियो विपरित । त्यसैले दौरा सुरुवालको माध्यमबाट राष्ट्रियता र पहिचानको उदाहरण पस्कन पनि उपराष्ट्रपति पुन सफल भएका छन् ।

Comments

comments