काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संविधानसभामा रहेका आठ दलका ४२ सांसदले राष्ट्रपति चुनावमा भाग नलिने भएको छ ।

मधेस केन्द्रीत चार दलको मधेसी मोर्चाले राष्ट्रपति चुनावमा भाग नलिने निर्णय गरेको हो । मधेसी मोर्चामा आवद्ध चार दल तमलोपा, संघीय समाजवादी फोरम, सद्भावना र तमसपाका ३५ सभासद छन् ।

प्रधानमन्त्री चुनावमा मधेसी मोर्चाले कांग्रेस उम्मेदवार सुशील कोइरालालाई मतदान गरेको थियो । तर, राष्ट्रपति चुनावमा भाग नलिने समझदारी भएको मोर्चा निकट एक नेताले बताए ।

यस्तै संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रपति चुनावमा भाग नलिने भएको छ । मोर्चामा आवद्ध शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका तीन सभासद छन् भने राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकसँग एक सभासद छ ।

थरुहट तराई पार्टीले पनि चुनावमा भाग नलिने बताएको छ । दुई सभासद रहेको थरुहट प्रधानमन्त्री चुनावमा तटस्थ बसेको थियो ।

नेपाल सद्भावना पार्टीले पनि चुनावमा भाग नलिने बताएको छ । अनिल झा नेतृत्वको उक्त पार्टीका एक सभासद छन् ।
नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसद बैठकमा मतदान हुँदैछ । राष्ट्रपतिका लागि सत्तारुढ दलहरुको तर्फबाट एमाले उपाध्यक्ष विद्या भण्डारी र कांग्रेसका कुलबहादुर गुरुङका उम्मेदवार छन् ।

Comments