-दीपेन्द्र दोङ तामाङ ।

नेपालमा संविधानसभाबाट संविधान जारी भएसँगै भारतले गरेको अघोषित नाकाबन्दीको अवधि लम्बिदो छ, र दिनानुदिन नेपालीको दैनिकी कष्टदायी बनिरहेको छ ।

आफूलाई नेपालको असल छिमेकी भन्दै आएको भारतले नाकाबन्दी जस्तो अत्यन्त निर्मम र निन्दनीय काम गरेपछि अहिले नेपाल सरकारले उत्तरी छिमेकी मुलुक चीनबाट इन्धन आपूर्ती गर्ने तयारी गरिरहेको छ । चीनबाट तत्कालको संकट टार्न मात्रै नभई दीर्घकालिन रुपमा नै व्यापारिक सम्झौता गर्ने तयारी भइरहेको छ ।

भारतीय नाकाबन्दका कारण जनजीवन प्रभावित त भएको छ नै , यससँगै आमनेपालीमा नेपालीत्व पनि बढेको छ, नेपाली स्वाभिमान थप सशक्त भएको छ । भारतले नेपालमा आफूअनुकुल संविधान नबनेको भन्दै गरेको नाकाबन्दपछि नेपाली नागरिकको उत्कट देशप्रेम सहतमा आएको छ । बरु कष्ट सहन तयार तर कुनै विदेशीशक्तिसामू शीर झुकाउँन हुँदैन भन्दै नेपाली एकता थप मजबुत भएको छ । आमनागरिकले कति कष्टको सामना गरिरहँदा पनि सरकार विरोध नगरी विदेशीसामू शीर नझुकाउँन मात्रै आग्रह गरिरहेका छन् ।

भारतको निर्मम कदम र नेपाली नागरिको स्वाभिमानको सम्मानका खातिर अन्नत नेपाल सरकारले भारतको एकाधिकार तोड्दै छिमेकी मुलुक चीनबाट इन्धन आयात गर्ने आँट गरेको छ । एकहिसाबले यो नेपालका लागि सुन्दर अवसर पनि हो । भारतले नाकाबन्द गर्नु भन्दाअघि पनि नेपाल सरकारले चीन जस्तै अरु देशबाट पनि इन्धन लगायत अन्य व्यपारिक सम्झौता गर्नु सक्नु पर्दथ्यो । यद्यपि, ढिलै भए पनि र भारतको अप्रिय कदमपछि भए पनि नेपालले भारतबाहेकको देशसँग पनि व्यपारिक सम्झौता गर्दैछ । यो सकारात्म कुरा हो । यसको अर्थ, अब भारतसँग टाढा नै हुनु पर्छ भन्ने चाहीं होइन । भारतसँग पनि कुटनीतिक पहल गर्दै नेपालले सम्बन्ध सुधार गर्नै पर्छ । भारतमै पनि अहिले नेपालमाथि भारतले गरेको नाकाबन्दीको विरोध भइरहेको छ । र, उसको विदेश नीतिको तिव्र आलोचना भइरहेको छ । भारतका नेपाल मामिलाका जानकार अशोक मेहता भन्छन्, भारतले नेपालसँगको सम्बन्ध विगारेर ठूलो गल्ती गरेको छ, अब यसलाई संवादको माध्यमबाट यथाशीघ्र पार लगाउँनुपर्छ ।

नेपालमा भारतीय नाकाबन्दीसँगै भारत विरोधी विचार पनि बढिरहेको छ । अब भारतलाई हेर्ने नेपालीको सोच सकारात्मक हुन बर्षौ लाग्नेछ । यसको असर भारतलाई पनि पर्नेछ । भारतीय नाकाबन्दीको अहिले अन्तराष्ट्रिय स्तरमा नै आलोचना भइरहेको छ । यूरोपेली युनियनले त भारतले नेपालमा नाकाबन्दी गरेर गल्ती गरेको भनि नै सकेको छ भने अन्य अन्तरािष्ट्रय संस्था र देशहरुले पनि भारतको आलोचना गरिरहेका छन् । अहिले नेपाल–भारतबीच चिसिएको सम्बन्ध कुटनीतिक तवरबाट छिट्टै सुल्झाउँनु पर्ने अन्तराष्ट्रिय कुटनीतिक मामिलाका जानकारहरुले वताएका छन् ।

भारतले अहिले मात्रै होइन, यसअघि २०४५ सालमा पनि नाकाबन्द गरेको थियो । यसले पहिलेदेखि नै नेपालमाथि भारतको नियत खराब भएको बुझाउँछ । यसर्थ नेपालले अब एउटै देशको भरपर्नु भन्दा पनि आफ्नो व्यपारिक सम्बन्ध अन्तराष्ट्रिय स्तरमा पु¥याउँनु पर्दछ । अहिलेको जारी चुनौतिलाई अवसरको रुपमा लिँदै नेपालले विश्व समुदायसँगको सम्बन्ध थप मजबुत बनाउँनु पर्दछ ।

Comments