काठमाडौं । देशमा इन्धनको अभाव सुरु भएको १ महिनाभन्दा बढी भयो । नेपालमा संविधान जारी भएलगत्तै असन्तुष्टि जनाएर भारतले अघोषितरुपमा नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको चरम अभाव छ । यही अभावमा खेल्दै कतिपय ब्यापारी र नागरिकले सिमाबाट इन्धन ल्याएर कालोबजारी मात्रै गरेका छैनन्, पेट्रोलमा मिसावटसमेत गरेर बेचिरहेका छन् । जसका कारण सवारीसाधनमा समस्या देखिन थालेको छ ।

अहिले मोटरसाइकल वर्कसपलाई कामको भ्याई नभ्याई छ । बिग्रेका मोटरसाइकल बनाउन आउनेहरुको भीड अत्याधिक बढेको छ । कतिपय मोटरसाइकलको त इञ्जिन मै समस्या आएको छ भने अधिकांश मोटरसाइकलमा स्टार्ट नहुने, धुवाँ फाल्ने लगायतका समस्या देखिएका छन् । बजारमा पेट्रोलको अभाव भएपछि कालोबजारी गरेर किनिएको र बेचिएको पेट्रोलको कारण यस्तो समस्या देखिएको हो । वर्कशप सञ्चालकहरु भन्छन्, पेट्रोलको कारण अहिले मोटरसाइकल बिग्रने क्रम बढेको छ ।

पेट्रोल पम्पहरुले आवश्यक मात्रामा पेट्रोल उपलब्ध गराउन नसकेपछि अहिले पुर्वी नाकाबाट आउने सवारीसाधनमा पेट्रोल ल्याइने गरिएको छ । ग्यालेन र टिनका बट्टामा पेट्रोल ल्याएर काठमाडौंमा प्रतिलिटर ६ सय रुपैयाँसम्ममा बेच्ने गरिएको छ । तर यति धेरै मुल्य तिरेपनि उपभोक्ताले गुणस्तरीय पेट्रोल भने पाएका छैनन् । बजारु पेट्रोलमा ह्वाइट पेट्रोल र थिनर मिसावट गरिएको छ ।

यस्ता पेट्रोलले इञ्जिन बन्दसमेत गराउने भएकाले यस्तो तेल प्रयोग नगर्न तेलको गुणस्तरमा शंका लागेमा १ लिटर पेट्रोलमा १० मिलिलिटर मोविल मिसाउन पनि मोटरसाइकल मर्मतकर्ताहरुले सुझाव दिएका छन् ।

यता प्रहरीले पनि कालोबजारी गर्नेलाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले १ सातामा कालोबजारी गर्ने १६ जनालाई पक्राउ गरेर १ जनालाई मुद्दा चलाएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी विश्वराज पोखरेलले बताउँनुभयो ।

एकातिर पेट्रोलमा कालोबजारी हुँदा उपभोक्ता मारमा परिरहेका छन् भने अन्य उपभोग्य वस्तुको मुल्यमा पनि यस्ले प्रत्यक्ष प्रभाव पार्छ । साथै यस्ता इन्धनमा मिसावट हुने हुँदा यसले सवारीसाधनमा खराबी ल्याउने हुनाले यस्ता इन्धन प्रयोग नगर्नु नै वेश हुन्छ । र केही पैसा कमाउने लोभमा कालोबजारी गर्दा यसले जेलसमेत पुराउन सक्छ ।

Comments

comments