काठमाडौं  । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वार्ता हुँदैछ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको सरकारी टोलीले आन्दोलनरत मोर्चासँग आइतबार वार्ता गर्न लागेको हो ।

वार्ता दिउँसो परराष्ट्र मन्त्रालयमा सुरु हुनेछ । मोर्चासँग वार्ताअघि सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालसँग छलफल गर्ने कार्यक्रम छ ।

दसैँ बिदामा समेत दुई पक्षबीच औपचारिक र अनौपचारिक रुपमा वार्ता भएको नेताहरुले बताएका छन् । सरकारी वार्ता टोलीले वार्ता परिणाममुखी बनाउने गरी गृहकार्य भैरहेको जनाएको छ ।

सात प्रदेशको सीमांकन परिमार्जन गर्नुपर्ने, राज्यका सबै निकायमा समावेशी समानुपातिकको सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै मोर्चाले दुई महिनाभन्दा बढी समयदेखि आन्दोलन गर्दै आएको छ । आइतवार हुने वार्तामा पनि सीमांकन सहितको एजेन्डाहरुमा अडीग रहने मोर्चाले निर्णय गरेको छ । सरकारसंग वार्तामा बस्नु अघि वार्तामा प्रस्तुत गर्ने विषय र एजेन्डा तय गर्न मोर्चाको वैठक अहिले विहान पुन: वस्दैछ ।

मोर्चाको आन्दोलनले ढुवानीमा अवरोध भएको भन्दै भारतले समेत अघोषित नाकाबन्दी गरेकाले जनजीवन कष्टकर बन्दै आएको छ ।

Please follow and like us:

Comments