काठमाडौं । नेपाल सरकारले चीनबाट इन्धन ल्याउँन आयातको सम्झौता गर्न सरकारी टोली आइतबार बेइजिङ पठाउँने भएको छ । भारतीय नाकाबन्दीपछि नेपालमा इन्धन संकट देखिएपछि चीन सरकारले तत्कालका लागि सहयोग स्वरुप इन्धन पठाइदिने भएको छ । चीन सरकारले अनुदान सहयोगस्वरुप पठाइदिन लागेको एक हजार मेट्रिक टन इन्धन मंगलबार काठमाडौं आइपुग्ने भएको छ । तर चीनले दिने इन्धन अनुदान ग्याँस,डिजेल वा पेट्रोल के हुने भन्नेबारे भने केही खुलेको छैन । तर चीनसँग सम्झौतापछि सबैभन्दा धेरै पेट्रोल ल्याउँने सरकारी तयारी छ ।

भारतीय नाकाबन्दीपछि इन्धन आयातको विकल्प खोजिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच शुक्रबार भएको सहमति बमोजिम चीनबाट मंगलबार रसुवा–केरुङ नाका हुँदै एक हजार मेट्रिक टन इन्धन नेपाल भित्रन लागेको हो ।

भारत भ्रमणका गएका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई भारतीयपक्षले नाकाबन्दी नखोल्ने जनाउ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन आयतका लागि अझ बढी सक्रिय हुनुभएको थियो ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल भएकै दिन गत मंगलबार राति नेपाल आयल निगमको ६ सदस्यीय टोली चीनबाट इन्धन आयातको अध्ययन गर्न सिगात्से गएको थियो ।

पेट्रोलियम र ग्यास चीनबाट आयात गर्न सिगात्से पुगेको निगमका निमित्त उपमहाप्रवन्धक सुशील भट्टराई नेतृत्वको टोलीले त्यहाँबाट ग्यास र इन्धन आयतका लागि चिनियाँ पक्षसँग छलफल गरेको थियो ।

चीनले पेट्रोलियम र ग्यास दिने सहमति जनाएपछि विस्तृत सम्झौताका लागि आइतबार नेपालबाट उच्चस्तरीय प्रतिनिधि मण्डल चीनको बेइजिङ जान लागेको हो ।

टोलीमा अर्थ, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयको उच्चस्तरीय व्यक्तित्वहरु रहने छन् । टोलीले चीन सरकारको स्वामित्व रहेको चाइना नेशनल पेट्रोलियम कर्पोरेशनसँग सम्झौता गर्नेछ ।

गत बैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त रसुवागढी–केरुङ नाका गत असोज २८ गतेबाट सञ्चालनमा आएको थियो ।

नेपाल र चीन सरकारको संयुक्त पहलमा खुलाइएको सो नाकाको सडकमा पुनः पहिरो खसेर थुनिएपछि त्यसलाई खुलाउन दुबै पक्षका अधिकारी लागेका छन् ।

चीन र नेपाल दुबैतर्फका कर्मचारी र मजदुरले पहिरो हटाउने कामलाई द्रूतता  दिएकाले मंगलबारै केरुङ नाकाबाट इन्धनका ट्यांकर नेपाल छिर्ने बताइएको छ ।

Comments

comments