काठमाडौं । राष्ट्रपति रामवरण यादवले नयाँ संविधान निर्माणसँगै मुलुकमा आर्थिक एवम् सामाजिक विकासतर्फ केन्द्रित गर्ने बाटो खुलेको बताउँनुभएको छ । संविधान जारी भएसँगै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्नेमा राष्ट्रपति यादवको जोड छ ।

वडादसैं २०७२ का अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति यादवले नयाँ संविधानको कार्यान्वयनसँगै झण्डै एक दशकअघि सुरु गरिएको शान्ति प्रक्रिया टुङ्गिएको उल्लेख गर्दै जनआन्दोलनका उपलब्धि बनेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीताले पनि संस्थागत स्वरुप प्राप्त गरेको उल्लेख गर्नुभएको छ ।

सन्देशमा संविधान निर्माण आफैंमा एउटा निरन्तर प्रक्रिया भएको र यसको अभ्यास तथा कार्यान्वयन गर्दै अघि बढ्दा यो थप परिष्कृत, समावेशी र न्यायपूर्ण हुँदै जाने भन्दै उहाँले नेपालको नयाँ संविधान देशमा संविधानवाद र लोकतन्त्रका आधारभूत मान्यता स्थापित गर्दै नेपालबाट सबै प्रकारका विभेद, अन्याय र शोषणलाई अन्त्य गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

चाडपर्व नेपाली समाजका गहना भएको उल्लेख गर्दै हरेक ऋतु परिवर्तनसँगै आइरहने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले दसैं, तिहार, छठ, ल्होसारजस्ता पर्वलाई साझा सांस्कृतिक उत्सवका रुपमा विस्तार र विकास गर्नेतर्फ ध्यान दिनु समायोचित हुने पनि बताउँनुभएको छ । यस्तै तराई, मधेस आन्दोलित र अशान्त हुन पुगेको तथा निरन्तरको बन्द, हड्ताल र असुरक्षाले तराई, मधेशका जनताको जीवनयापन अत्यन्त कष्टकर हुँदै गइरहेको स्मरण गराउँदै उहाँले सिङ्गो मुलुक नै प्रभावित भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

Comments

comments