काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशमा आन्दोलनरत दलहरुहरुलाई वार्तामा आउँन पुनः आह्वान गर्नुभएको छ । संविधान निरन्तर गतिशीलताको एउटा दस्तावेज भएकाले त्यसमा केही कमीकमजोरी छन् भने पनि सार्थक वार्ता र संवादका माध्यमबाट त्यसलाई सच्याउन सकिने प्रधानमन्त्री ओलीको कथन छ ।

विजयादशमीको अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै करिब सात दशकदेखिको जनताको राजनीतिक र सामाजिक अधिकार प्राप्तिको चाहना र आकांक्षालाई संस्थागत गरेको उल्लेख गर्नुभएको छ । मुलुक विश्वमै प्राकृतिक र जैविक विविधता र अन्य सम्पदाको दृष्टिले अनुपम रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले यिनै प्राकृतिक सम्पदाहरुको भरपूर सदुपयोग गरेर अब मुलुकलाई आर्थिकरुपमा समृद्धिको दिशामा अघि बढाउनु आवश्यक रहेको बताउँनुभयो ।

केही समयदेखि सीमा क्षेत्रमा भएका अवरोधका कारण इन्धनलगायतका सामान आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएकाले चाडपर्वको बेलामा समेत आम नेपालीले कष्ट र अप्ठ्याराहरु व्योहोर्नु परिरहेको बताउँदै आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले तदारुकताका साथ पहल थालिसकेको उल्लेख गर्नुभएको छ ।

चाडपर्वका बेला नेपाली जनताले भोग्नुपरेको अनुचित पीडाप्रति आफू अत्यन्तै संवेदनशील र दुखित भएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो जटिल र कठिन परिस्थितिमा आम देशवासीले देखाउनु भएको संयम, धैर्यता र राष्ट्रिय एकताको भावनाको सम्मान गर्ने सन्देशमा उल्लेख छ ।

नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको र हाम्रा रीतिरिवाज, संस्कृति र सुन्दर परम्पराहरुले आम नेपालीलाई शदियौंदेखि एक आपसमा जोड्दै आएको प्रधानमन्त्री ओलीको धारणा छ । गौरवपूर्ण यस्तो इतिहासलाई निरन्तरता दिँदै मुलुकलाई एकताबद्ध र अखण्ड राख्न हामी सबै लागिपरौँ भन्ने आह्वान गर्दै उहाँले बडादसैं २०७२ को उपलक्ष्यमा सरकार र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश र विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

Comments

comments