काठमाडौं । महान् पर्व बडा दशैंअन्तर्गत आज दशैंघर तथा देवीमन्दिरहरुमा देवी महाकालीको पूजाआराधना गरिंदैछ । आजै राति मध्यरातमा माता कालरात्रिको पूजा गरिन्छ ।

नेपाली समाजमा भव्यताका साथ मनाइंने महान्  पर्व बडा दशैंको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर शक्ति स्वरुपा भवानी माता महाकालीको पूजाआजा गरिन्छ ।  महाकाली आदिमाता पार्वतीको मायावी उग्र रुप हो । विश्वकल्याणका निम्ति ज्ञानसाधनामा साधनारत साधक सन्तसाधु चिन्तक,सत्मार्गीलाई त्रस्त तुल्याउने दुष्ट वृत्तिमा लागेका दानवलाई छल वा भ्रान्तिको माध्यमबाट समेत तह लगाउने उद्देश्यले कालरात्रिको समयमा महाकाली देवीको प्रदुर्भाव भएको शास्त्रहरुमा उल्लेख छ । यी देवीको वदनवर्ण नीलो रंगको रेहेको छ । लामो रातो ओंठ भएकी, रातो जिभ्रो लप्लपाउने,गधामा चढेकी, नरमुण्डमाला लाएकी,विविध आयुध धरेकी, रक्तकुण्ड धारण गरेकी,बहुरुपी रङमा प्रकट भई असुरहरुलाई अलमलमा पारिदिने माता कालरात्रिको चरित्र चित्रण गरिएकोछ । माता पार्वती आफ्नो स्वर्ण स्वरुप छोपेर अंध्यारामा प्रकट भएकीले यस रुपलाई कालरात्रि भनिएको स्कन्द पुराणमा उल्लेख छ । देवीको महाकाली रुप शक्तिको भयंकर अवस्था हो । यस रुपलाई ज्ञानरुप शिवले सत्मार्ग प्रदान गर्दछन् ।  उनको प्रचण्ड शक्तिलाई जगतकल्याणमा रुपान्तरण गर्न शिव मात्र समर्थ छन् ।

लोकमा यस दिनदेखि देवीको विशेष पूजाआजा शुरु हुन्छ । शक्तिपीठहरुमा अष्टमीको मध्यरातमा वलिपूजा गरिन्छ । महाअष्टमीका दिन घरघरमा रहेका हातहतियार तथा सरसाधनको पूजा गरिन्छ । महाअष्टमीको रातमा कोटघरमा विशेष विधिपूर्वक कालरात्रिको पूजा गरेपछि कोटघर तथा देवी मन्दिरहरुमा वलिपूजा पनि हुनथाल्छ । सनातन हिन्दुधर्मसंस्कृतिमा विशेष महत्वका साथ मानिने चार रात्रिहरुमा कालरात्रि पनि एक हो ।

Comments