काठमाडौं । महान् पर्व बडा दशैंअन्तर्गत आज दशैंघर तथा देवीमन्दिरहरुमा माता चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदैछ । नेपाली समाजमा मनाइने महान् पर्व बडा दशैंको तेस्रो दिन आश्विनशुक्ल तृतीया तिथिमा देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिन्छ ।

देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुंदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ । जगत वैभवशाली भएको छ । बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ । चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुंदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङको रहेको शास्त्रहरुमा उल्लेख छ । उनी बाघमाथि चढेकी छन् । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी  भक्तहरुले पूजन गरिरहेका छन् ।  गाउंघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान ,कथावाचन तथा श्रवण गरिंदै छ ।

काठमाडौको हनुमानढोकास्थित दशैंघर नजिकै रहेकी तलेजु भवानीका साथै उपत्यकामा रहेका देवीमन्दिर तथा शक्तिपीठ  गह्येश्वरी,मैतीदेवी, नक्सालभगवती,कालिकास्थान,भद्रकाली, संकटा, ,रक्तकाली,दक्षिणकाली र शोभाभगवतीका मन्दिरमा नवरात्रको विशेष पूजा शुरुभएको छ  । यसै गरी नरदेवी, विजयेश्वरी,इन्द्रायणी,वज्रवाराही,बगलामुखीमा पनि दशैंको विशेषपूजा गरिंदैछ ।

यसरी नै मुलुकभर रहेका देवीमन्दिर तथा शक्तिपीठमा देवीभवानीको पूजाआराधना भइरहेको छ । पूर्वकी पाथीभरादेवी रक्तकाली,कंकालिनी,सिद्धकाली सखडा भगवती छिन्नमस्ता, गडीमाई भगवती, दन्तकाली,कालिञ्चोक भगवती,पाल्चोक भगवती,पलाञ्चोक भगवती, लिस्तीमाई,चण्डेश्वरी,चामुण्डा भगवती,सल्यानकोट भगवती,रिपुमर्दिनी भैरवी भगवती,देवीघाट भगवती,गोरखकाली,मनकामना भगवती, लमजुङ कालिका, छिम्केश्वरी,खड्गेश्वरी, मौलाकालिका,जितेश्वरी,भैरवी,भद्रकाली,विन्दवासिनी भगवती, सराङकोट,कास्कीकोटकी गुप्तकाली,पाङ्दुरकोट आलमदेवी,गह्रौंकालिका ,सतौंचण्डी,बागलुङ कालिका,दुर्लुङ कालिका,जलजलामाई,शैलेश्वरी,वागेश्वरी उग्रतारा,लगायत देशका थुमथुम र गढीग्राम,दुर्गमा रहेका देवीमन्दिरमा बडो उत्साहका साथ भगवतीको पूजाअर्चना भइरहेका छ । मुलुकभर मानिसहरु ठूलो संख्यामा देवीपूजनका लागि मन्दिरक्षेत्रमा भेला हुने र मार्ग, बाटाघाटामा हिड्दा देश दुनिया नै जगमग र भव्य देखिएकोछ ।

Comments

comments