काठमाडौं । लिच्छवी कालदेखि नै नेपाली माटोमा फहराउदै आएको राष्ट्रिय झण्डालाई नेपालीको एकताको प्रतीक मानिन्छ । नेपालको एकताको सर्वमान्य सुत्र देशको झण्डा र त्यसलाई देश विदेशमा फहराउने अधिकार पाएका खेलाडीलाई आम नेपालीले मुलुकको  गहना ठान्छन् । तर १२ वर्षदेखि देशको झण्डा बोकेर देशमाथि नै गद्दारी गर्दै विदेशीको पैसामा विक्ने खेलाडीको अनुहार सारा नेपालीका सामु पर्दाफास हुँदा आम नेपाली स्तब्ध बनेका छन् ।

रँगशालामा उपस्थित हजारौँ दर्शकका अघि नेपाली खेलाडीको रुपमा मैदानमा उत्रदा यी खेलाडीप्रतिको तालिको हड्गडाहट र हुटिङ्को चिच्याहटले यीनिहरुप्रतिको देशको आशा, भरोसा र प्रतिष्ठा झल्काउँथ्यो । मैदानबाट सिंह झैँ विरोधीलाई झम्टने हाम्रा खेलाडीहरु कतिबेला स्याल बनेछन् भन्ने पत्तै  थिएन । प्रहरीको खोरबाट निस्कँदा यीनिहरु आफ्नो अनुहार सम्म देखाउन सक्ने अवस्थामा थिएनन् । निरन्तर नौ वर्षदेखि विदेशी भुमिमा नेपाली फुटबल टिमको एकपछि अर्को लज्जास्पद हारका श्रृङ्खला चलिरहँदा पनि खेलाडीप्रति नेपालीको अथाह सम्मानमा कुनै कमी आएको थिएन । महानगरीय प्रहरी अपराध महाशाखाको पछिल्लो २० दिनको अनुसन्धानले सारा नेपाली आकाशबाट खसे झैँ भएका छन् । खेल–मिलेमतो अर्थात म्याच फिक्सिङको आरोपमा खेलाडी पक्राउ परेको यो नेपाली फुटबल इतिहासकै पहिलो घटना हो । अहिलेसम्म यो आशंकामा अखिल नेपाल फुटबल संघ एन्फाले कसैलाई कारबाही गरेको छैन । नेपाल प्रहरीले पहिलोपटक हात हालेको यो अपराधमा अनुसन्धानमा संलग्न प्रमुख सर्वेन्द्र खनालले म्याच फिक्सिङ गरेर राष्ट्रविरुद्ध अपराध गरेकाले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको बताए ।

महिना दिनअघि नै अनुसन्धान निचोडमा पुगे पनि मिलेमतोमा सबैभन्दा बढी सक्रिय देखिएका अञ्जन भारतको सिक्किम गएपछि प्रहरीले कसैलाई पक्राउ गरेन । अञ्जन नेपाल आएको सूचना आएपछि पक्राउको क्रम सुरु गरेको थियो । पक्राउ परेका खेलाडीले समेत केही खेलको नतिजा आर्थिक प्रभावमा आएको स्वीकार गरेका छन् । केही खेलाडीलाई प्रभाव पार्नुपरे बुकीले मुख्य रूपमा रक्षक, गोलकिपरसँग आर्थिक लेनदेन गर्ने गरेको तथ्य फेला परेको छ । एक खेलवापत एक करोड नेपाली रुपैयाँसम्म डिल भएको देखिएको छ । यस वापत खेलाडीको भूमिकाअनुसार एक लाखदेखि १० लाखसम्म पाउने गरेका थिए । निगरानीका क्रममा केही खेलाडीको नाममा केही मनी ट्रान्सफरहरूबाट पैसा आएको खुलेको छ । अहिले पक्राउ परेकाहरू खेल मिलेमतोका मुख्य व्यक्तिहरू हुन् । अन्य खेलाडी, प्रशिक्षक र पदाधिकारीसमेत अनुसन्धानको घेरामा छन् । केहीको खोजी भइरहेको र केहीबारे थप अनुसन्धान जारी रहेको एसएसपी खनालले बताए । अनुसन्धान अधिकारीका अनुसार ८ वटा अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्स भएको देखिएकाले सोही खेललाई केन्द्रित गरी अनुसन्धान अगाडि बढाइएको छ । नेपालले खेलेको पछिल्लो ९ अन्तर्राष्ट्रिय खेल गोलविहीन छन ।

कुन कुन खेल कति डलरमा फिक्स भएको थियो ?

१. रितेश थापा, सन्दिप राई, सागर थापा, विकास सिंह क्षेत्री र अन्जन के.सी.लाई सोधपुछ गर्दा विभिन्न देशहरुमा भएका अन्तराष्ट्रिय स्तरको फुटवल खेलमा म्याच फिक्सिङ गरी नेपाली फुटवल टिमलाई हराई रकम लिने खाने गरेको खुल्न आएको ।

२. वेष्टर्न यूनियन मनि ट्रान्सफर समेतबाट नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी रितेश थापा र पुर्व राष्ट्रिय खेलाडी अन्जन के.सी.ले नेपाली राष्ट्रिय फुटवल टिमको अन्तराष्ट्रिय खेलहरु भएको समयमा विभिन्न देशहरुबाट रकम प्राप्त गरेको ।

३. सन् २००८ मा मोरडेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने सर्तमा प्रति खेलाडीहरुले ५ हजार अमेरिकी डलर लिएको खुल्न आएको ।

४. सन् २००९ को साफ च्याम्पियनसीपमा जम्मा ३०६१ यूएस डलर लिई दामासाहीमा वाँडी लिएको ।

५. सन् २०११ मा मलेसियासँगको मैत्रीपुर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा निजहरुले प्रति खेलाडी ५ हजार यूएस डलर लिएको ।

६. सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० ले हार्ने सर्तमा निजहरु प्रति खेलाडीले ५ हजार यूएस डलर  लिएको ।

७. सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा हामी प्रति खेलाडी ५ हजार यूएस डलर  लिने गरी सर्त भएकोमा खेलको अन्त तिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको ।

८. सन् २०१४ मा कोरियामा भएको अण्डर २३ एसिया च्यम्पियनसीपमा खेल हार्ने सर्तमा निजहरु प्रति खेलाडीेले ५ हजार यूएस डलर लिएको ।

Comments

comments