काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि तीन प्रत्यासी देखिएका छन् ।

वुधबार काठमाडौँमा  सुरु भएको साताँै अधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टिबी कार्की र पूर्व महासचिव रतनकुमार झाले उम्मदवारी दिनुभएको हो ।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भुवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट, शमशेरसिंह थापाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, महासचिव पदका लागि डा बद्री केसी, पुष्पराज तिमल्सिना, पुष्प थापा र रञ्जु थापा तथा सचिव पदमा अर्जुनकुमार श्रेष्ठ, धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी कोषाध्यक्ष पदमा भैरवप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र शिवाकोटी र यमकुमार गुरुङको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदको सहमतिका लागि प्रयास भइरहेको र आज  दिउँसोसम्म पनि सहमति नभए निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिने एनआरएनएका महासचिव कुमार पन्तले जानकारी दिनुभयो ।

एनआरएनएको बन्दसत्र भर्खरै सकिएको छ । बिहीबार दिउँसो १ बजे निर्वाचन हुने कार्यक्रम छ ।

यसअघि अधिवेशनको एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, वर्तमान अध्यक्ष शेष घले, निर्वतमान अध्यक्ष जिवा लामिछाने र पूर्व अध्यक्ष देवमान हिराचनले संयुक्त रुपमा उद्घाटन गर्दै सकेसम्म नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि शुक्रबार एनआरएन विश्व सम्मेलन सुरु हुनेछ । सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता रहेको छ ।

आगामी असोज ३० गते काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने आयोजकले जनाएको छ ।

यो पटकको सम्मेलनले भूकम्पपछिको अवस्थामा नेपालमा पुनःनिर्माण र पूर्वाधार विकासमा लगानी अभिवृद्धि गर्नेगरी योजना कार्यक्रम ल्याइने बताइएको छ ।

Comments

comments