काठमाडौं । आगामी साताबाट दोस्रो चलचित्र परदेशी प्रदर्शनमा आउँने भएपछि नायिका रजनी केसी निकै पुलकित भएकी छिन् । सफल चलचित्र गोर्खा पल्टनका निर्देशक लोक गायक तथा संगीतकार नारायण रायमाझीद्धारा निर्देशित यो चलचित्रबाट आफू दर्शकको आँखामा पर्नेमा रजनी आशावादी छिन् । परदेशीमा गायक प्रशान्त तामाङ नायक छन् ।

दुई वर्ष अघि निर्माता छविराज ओझाको सफल व्यानर छविराज प्रोडक्सनले निर्माण गरेको लोफर चलचित्रबाट डेब्यू गरेकी रजनीले लोफरको रिलिज अगाडि प्रशस्तै चर्चा पाएकी थिइन् । तर लोफर रिलिज भएपछि भने उनी लगभग गुमनाम जस्तै बनेकी थिइन् । रेखा थापासँग ब्रेकअप हुने वित्तिकै छविको नजरमा परेकीले रजनी र छविको सम्बन्धलाई लिएर विभिन्न किसिमका गसिपहरु छाएको थियो । तर रजनीले अहिले आएर ती सबै गसिप मिडियाले चलाइदिएको र लोफरको पब्लिसिटी स्टण्ड मात्र भएको खुलासा गरेकी छिन् । उनको ठाउँमा अर्की नायिका शिल्पा पोखरेलले लिएपछि छविराज प्रोडक्सनबाट टाढिए पनि रजनीले अहिले पनि छवि ओझासँग आफ्नो राम्रै सम्बन्ध रहेको बताएकी छिन् । भन्छिन्–छवि सरसँग अझै पनि मेरो बेला बेलामा सम्पर्क हुन्छ । उहाँले यसो गर उसो नगर भन्ने लगायतका मेरो करियरलाई मार्ग निर्देशन हुने सल्लाहरु दिने गर्नुहुन्छ ।

नुवाकोटकी यी कालिसुन्दरीले परदेशमा आफूले खुलेर अभिनय गरेको दाबी समेत गरिन् । हालै आयोजित चलचित्र परदेशीको अडियो तथा भिडियो गीत रिलिज समारोहमा वरिष्ठ अभिनेता हरिवंश आचार्यले समेत आफ्नो अभिनयको तारिफ गरिदिएपछि उनी निकै दंग परेकी छिन् । उहाँ जस्तो वरिष्ठहरुबाट तारिफ पाउँनुलाई मैले मेरो सफलता मानेकी छु,दंग हुँदै रजनीले भनिन्–यसले मलाई अझ अगाडि बढ्न उत्साह र उर्जा मिलेको छ ।
रजनीको तेस्रो चलचित्र ब्रास्लेटको पनि छायांकन सम्पन्न भइसकेको छ ।

Comments

comments