-नरेन्द्र रौले

‘म त सामान्य मानिस पो हो ।’ उनले भनिन्, ‘मलाई मोडल पो बनाउन लाग्नुभयो ?’ ग्ल्यामर फोटोका लागी आग्रह गर्दा उनी अलि अन्कनादै बोलिन्, ‘भोली राष्ट्रपतिज्युले पत्रिका पल्टाउँदा के भन्नुहोला ?’ अघिल्लो साता उनै राष्ट्रपति पुत्री अनिता यादबसँग शितल निबासमा भेट्दा अलि फरक लाग्यो । उनको आनीबानि, ब्यबहार र सोच आम नागरिकको भन्दा कत्ति फरक थिएन । ‘शितल निबास आउँदा नै मलाई थाह थियो, निश्चित समयपछि मैले यो ठाउ छाड्नुपर्नेछ ।’ उनका ओठहरु चल्मलाए, ‘यहाँ बस्दा मेरो जीवनशैली हाइफाइ रहेन ।’

सरल जीवन जिउन चाहने अनिता ठूलठूला रेस्टुराँ, क्याफे छिर्न रुचाउँदिनन् । काठमाडौंमा हुँदा साइकल चढ्न मन पराउने उनी जन्मथलो जनकपुर पुग्दा रिक्सा चढ्छिन् । क्याजुअल पहिरनमा हिंड्न रुचाउने उनी मम भनेपछि हुरुक्कै हुन्छिन् । जनकपुरको स्थानिय परिकार छोलामरी पनि असाध्यै मन पर्दो रहेछ । ‘त्यहाँ पुग्यो कि तलतल लाग्छ ।’ उनी सुनाउँछिन्, ‘एक प्लेटले पुग्दैन । दुइ प्लेट अर्डर गर्छु ।’ नियमित खानपानमा भने उनी निकै सचेत छिन् । मन पर्दैमा धेरै खाने उनको बानी छैन । बढी खायो भने एकातिर मोटोपन बढ्छ, अर्कोतिर इन्द्रियहरुमाथि नियन्त्रण गर्न सकिदैन भन्ने उनको बुझाई छ ।

अनिता बिहान ६ बजे ब्युँझिन्छिन् । जगिङ, शारीरिक अभ्यास र योग गर्नु उनको दैनिकी हो । एक, दुइ गिलास पानी पिएपछि लेमन चिया पिउछिन् । अनितालाई ग्रिन टि एकदमै मनपर्छ । हरेक दिन ५ कप पिउँछिन् । दिउसो आफ्नो रुचिका कार्यक्रममा सहभागी हुन्छिन् । फुर्सदमा शान्तसँग कोठामा बस्ने, संगीत सुन्ने, पुस्तक पढ्ने, चलचित्र हेर्ने गर्छिन् । उनलाई मुड अनुसार हिन्दी, अंग्रेजी, नेपाली सबैखाले गीतहरु सुन्न मन लाग्छ । अन्जु पन्तको नर्बिर्सें तिमीलाई, नपाए तिमीलाई उनलाई सबैभन्दा मनपर्ने गीत हो । उनलाई सोधियो, ‘कतै आफ्नो जीवनमा मेल खाने भएर त होईन ?’ ‘त्यसो होईन । अन्जुको स्वरमा मिठास छ ।’

उनले सुनाइन्, ‘म उनका गीतहरुको भाब महशुष गर्न सक्छु ।’ केही अघि इन्दिरा गान्धीको जीवनि छिचोलेकि उनले यतिबेला जवाहरलाल नेहरुको गिल्म्पिस् अफ वल्र्ड हिस्ट्री पुस्तक पढ्दैछिन् । उनकै बुबाले त्यो पुस्तक दिनुभएको रहेछ । उनको जीवनमा गीताले सबैभन्दा बढी प्रभाबित गरेको रहेछ । जब जीवनमा कठिनाइ आइपर्छ तब उनी गीता पल्टाउँछिन् । गीताका श्लोकहरुमा आँखा डुलाउँछिन् । यसो गर्दा उनले आफूलाई सम्हाल्न, समस्याबाट बाहिर निस्किन मद्दत पुग्छ । उनलाई आफ्नो कर्मप्रति प्रतिबद्ध हुन गीताले आँखा खोलिदिए जस्तो लाग्छ । भनिन्, ‘अरुलाई सधैं राम्रो गर्न र आफ्नो रक्षा आफै गर्न प्रेरित गर्‍यो ।’ ओशो र गान्धीका पुस्तकहरुले पनि उनलाई आकर्षित गर्छन् ।

बेलायतबाट स्नातक र स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी अनिता योग शिक्षक पनि हुन् । केमेन्डिस् कलेजबाट फेसन डिजाइनिङमा स्नातक र युनिभर्सिटि अफ सरेबाट हेल्थ एण्ड पोलिसीमा स्नातकोत्तर गरेकि उनले आठ वर्ष बेलायतमा बिताइन् । कुराकानी भइरहँदा बिचबिचमा अंग्रेजी शब्द घुसाउँदै बोल्ने बानी लागेकि उनी सुरुमा बिदेश पुग्दा रुन्थिन् । घरको याद यति आउँथ्यो, नेपाल फर्किन मन लाग्थ्यो । यताबाट बुबाको फोन आउथ्यो, ‘कस्तो छौ छोरी ?’ उता अनिताका आँखाभरी आँशु हुन्थे । उनी मुख पुछ्थिन् । एकछिनपछि फोनमा बोल्थिन्, ‘म ठीकै छु बुबा, ठीकै छु ।’ यसो भनिरहँदा उनी भाबुक बनिन् । र, केही सम्झेजस्तो गरेर एकछिन् टोलाइन् ।

सामसुङको नोट थ्रि मोबाइल प्रयोग गर्ने अनिता अचेल सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । तराइका घटनाहरुले उनको मन बिथोलेको छ । जातभात, सम्प्रदायका नाममा भईरहेका घटनाले तनाब थपिरहेको छ । हिंसात्मक घटनाबाट परिबर्तन होईन ध्वंसमात्र हुने कुरामा उनले जोड दिदै केही न केही लेखिरहन्छिन् । सबैकुरा बिर्सेर हामी नेपाली हौं भन्ने भाबनाको खाँचो भएको उनले सुनाइन् । बिपी ग्रामिण सेवा केन्द्रकि अध्यक्ष रहेकी उनी सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् । अनुज योगा नामक संस्था खोलेकि उनलाई योग सिकाउन मन छ । तर के–के नमिलेको जस्तो लागिरहन्छ । खासगरी मुलुकको परिस्थीतिले काम गर्ने मुड बनेको छैन ।

अनितामा ब्राण्डेड सामान नै प्रयोग गर्नुपर्छ भन्ने भाबना छैन । मनलाग्दा सस्तो सामान किनिहाल्छिन् । दुई सय रुपैंयाँ पर्ने टिसर्ट पनि लगाएको उनले स्वीकारिन् । जिन्स र टिसर्टमा हिंड्न रुचाउने उनलाई सारी र लेहेंगा पनि उत्तिकै मनपर्छ । लिपिस्टिक र गाजल प्राय नछुटाउने उनी हरेक महिना ब्युटिपार्लर जान्छिन् । पुजाआजामा उनको रुचि बढेको छ । भगवानमा विश्वास राख्ने उनी साथीसंगी, बुबासँग बेलाबेला मन्दिर जान्छिन् । उनी भाग्यमा विश्वास राख्छिन् । कहिलेकाहीं नसोचेको कुरा पनि पाईन्छ, कुनै कुरा पाउन जत्ति कोशिष गरेपनि सकिदैन ।

त्यसो हुनु भाग्यकै कारण हो भन्ने उनको ठम्याई छ । उनको नजरमा प्रेम ? दुस्मनलाई पनि जित्ने संसारमा कुनै कुरा छ भने त्यो हो, प्रेम । उनले प्रष्ट्याइन्, ‘प्रेमले एकअर्कालाई बाँध्छ ।’ अहिले सम्म कुनै ब्यक्तिको प्रेममा नपरेको बताउने उनले विवाह आफ्नो हातमा नरहेको सुनाइन् । मनमनै सोच्छिन्, भगवानले आफै जोडी मिलाउछ । तर अझैं जोडी नमिलेको, समय, परिस्थीतिले त्यो कुरा आफै मिलाउने उनको ठम्याइ छ ।

अबको केही समयपछि उनले शितलनिबास छाड्नुपर्नेछ । राजधानीमै बस्ने कि जनकपुर जाने कुनै योजना बनिसकेको छैन । ‘हामीलाई न पहाडले पत्यायो, न मधेसले ।’ उनी भन्छिन्, ‘कोही बिभाजित नहोस् । नेपालीपन कसैले छिन्न पाउदैन ।’ बुबा राष्ट्रपति बनेपछि चीन, जापान, कतार, कुवेत लगायत देश घुमेकी उनलाई जनकपुर नै प्यारो लाग्छ ।

अनिता राती १० बजेतिर निदाउन खोज्छिन् । बिहान छिटै ब्युँझिन, ओछ्यानमा छिटै गएपनि कुनैबेला निदाउन सक्दिनन् । गीत सुन्दै, पुस्तक पढ्दै निदाउदा ११ बजिसक्छ ।

लेखकको ब्लगबाट साभार

Comments