काठमाडौ । भारतले लगाएको नाकाबन्दीका कारण नेपालीको जनजीवन अस्तव्यस्त भैरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीवार विहान पशुपतिनाथ मन्दिर पुगेर क्षमा पूजा गरेका छन्  । नाकाबन्दी लगाएर निर्दोष नेपालीलाई दुख दिएको स्वीकार्दै मोदीले पशुपतिनाथ समक्ष आफ्नो पाप स्वीकार्दै क्षमा मागेका हुन् ।

तर असली मोदीले नभई उनको जस्तै भेषभुषामा रहेका मनोज गजुरेलले मोदीका तर्फबाट क्षमा पूजा गरेका हुन्    । भारतले नेपालमा नाकाबन्दी लगाएपछि नेपालीहरुले त्यसको सांकेतिक विरोध जारी राखेका छन् । ट्वीटर प्रयोगकर्ताहरुको अगुवाइमा बुधबार भारतीय दुतावासमा तेल दिएको अर्को दिन बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पापमोचनका लागि पशुपतिनाथ मन्दिरमा क्षमा पुजा गरिएको हो ।

नाकाबन्दीको मानवीय असर बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा सांकेतिक र व्यंग्यात्मक शैलीमा पशुपतिनाथमा क्षमा पूजा गरिएको हो।

क्षमा पूजामा कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, पूर्व मुख्य सचिव लीलामणि पौडेल, पत्रकार कनकमणि दीक्षितलगायत नागरिक समाजका अगुवा तथा सयौं सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

नाकाबन्दी गरेर नेपाल र नेपालीलाई दुःख दिएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पापमोचनका लागि पूजा आयोजना गरिएको आयोजकहरुले बताएका छन्। नेपालतर्फबाट भारतको सांकेतिक र व्यंगात्मक विरोध भएपनि भारतीय पक्षले भने नाकाबन्दीमा सघाउन मधेशी मोर्चालाई भारतमै आश्रय दिइरहेको छ । भारतीय भूमि प्रयोग गरेर मोर्चाले नेपालमा अराजक गतिविधि जारी राखेका छन् ।

Comments

comments