काठमाडौं । राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आज (बिहीबार) सकिंदैछ । राष्ट्रपति डाक्टर यादवले असोज १५ गते सहमतीय सरकार गठनका लागि संसद् अधिवेशन आह्वान गर्दै सात दिनको समयसीमा दिनुभएको  थियो ।

राष्ट्रपतिले दिएको समयसीमाभित्र सहमतीय सरकार गठनको सम्भावना नभएपछि दलहरु बहुमतीय प्रक्रियामार्फत् सरकार गठनको कसरतमा लागेका छन् । सहमतीय सरकार गठनका लागि व्यवस्थापिका संसद्मा रहेका सबै दलको सहमति र समर्थन चाहिन्छ । मधेसकेन्द्रीत दलहरु आन्दोलनमा रहेका कारण सहमतीय सरकार गठनको सम्भावना नभएपछि दलहरु बहुमतीय प्रक्रियामा जुटेका हुन् ।

सरकारको नेतृत्व कसले लिने भन्ने बारेमा दलहरुबीच मतभेद छ । चार दलबीच भएको भनिएको भद्र सहमतिअनुसार नेकपा एमालेले सरकारको नेतृत्व आफूले पाउनुपर्ने बताउँदै आएको छ ।

तर नेपाली कांग्रेसले त्यस्तो सहमति नभएको दाबी गर्दै आएको छ । नयाँ सरकार गठनका लागि बहुमतीय प्रक्रिया भोलिबाट शुरु हुने छ । शुक्रबार नै व्यवस्थापिका संसद्को बैठक बोलाइएको छ ।

Comments