काठमाडौँ  ।  नेपाली कांग्रेसको १३ औं महाधिवेशन आगामी फागुन २० देखि २३ सम्म हुने भएको छ। आज बसेको कांग्रेस केन्द्रिय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो।

नयाँ संविधानबाट महाधिवेशन गर्न थप छ महिना समय पाएको कांग्रेसले गाउँ नगर माघ १५ गते, क्षेत्र २२ गते जिल्ला अधिवेशन २५ गर्ने निर्णय पनि गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा संविधानसभाबाट नयाँ संविधान जारीसँगै मुलुकमा उत्पन्न नयाँ परिस्थिति र महाधिवेशनको नयाँ कार्यतालिका साथै नयाँ सरकार गठनका विषयमा छलफल भएको थियो ।

यसअघि कांग्रेसले १३ औं महाधिवेशनको मिति दुईपटक र स्थानीय तहको अधिवेशनको मिति तीनपटक तय गरे पनि संविधान निर्माण लगायतका कारण देखाउँदै स्थगित गरेको थियो ।

गत असोज ५ गतेभित्रै महाधिवेशन गरिसक्नुपर्ने पार्टी विधान र अन्तरिम संविधानको व्यवस्था भए पनि असोज ३ गते जारी भएको नयाँ संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा मुलुकमा आइपर्ने विशेष अवस्थामा थप छ महिना समय लिन सक्नेसहितको प्रावधान राखिएको छ जसले कांग्रेसलाई संवैधानिक संकटबाट जोगाएको थियो । राजनीतिक दलसम्बन्धी धारा २६४ को उपधारा ४ को ख पारित भएपछि कांग्रेसलाई छ महिनासम्म महाधिवेशन सार्ने बाटो खुलेको हो ।

महाधिवेशन भएको असोज ५ गते पाँच वर्ष पूरा भएको छ।

Comments

comments