दीपेन्द्र दोङ तामाङ,मेलबर्न । गैर आवासीय नेपाली संघको यही अक्टुबर १४ देखि शुरु हुन लागेको सातौं विश्व सम्मेलनको मिति नजिकिएसँगै उम्मेदवारहरुको चुनावी अभियानले पनि तीव्रता पाएको छ । त्यही क्रममा दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा उम्मेदवारी दिनुभएका वर्तमान अध्यक्ष  शेष घलेले पनि आफ्नो चुनावी अभियान शुरु गर्नुभएको छ ।

नेपालीका लागि नेपाली भन्ने नाराका साथ अघि बढिरहेको एनआरएनको आगामी नेतृत्वका लागि पनि अष्ट्रेलिया निवासी घलेले पुनः उम्मेदवारी दिनुभएको छ । उहाँले भर्खरै आफ्नो चुनावी अभियान अन्तर्गत एक भिडियो अपिल सार्वजनिक गर्नुभएको छ । उक्त भिडियोमा अध्यक्ष घलेले आफ्नो उम्मेदवारीको औचित्यबारे प्रष्ट पार्दै शुभचिन्तकहरुसँग भोट अपील समेत गर्नुभएको छ ।

आफ्नो दुई वर्षे कार्यकाल निकै उपलब्धीमुलुक रहेको दाबी गर्दै अध्यक्ष घलेले आफ्नो कार्यकालमा एनआरएनको केन्द्रीय कार्यालय निर्माण,महाविनाशकारी भूकम्पपछिको पुननिर्माण लगायतका कार्यहरु अझै पनि अपुरो अवस्थामा रहेकोले त्यसलाई पूर्णतः दिन पनि आफूले पुनः उम्मेदवारी दिएको बताउँनुभएको छ ।

आफ्नो दुई वर्षको कार्यकालमा संस्थालाई स्थायित्व दिन,भरोशायोग्य बनाउँन र मातृभूमिको समृद्धिका लागि साझेदारीका लागि हदैसम्म कोशिस गरिएको बताउँनुभएको छ । यस्तै वैदेशिक रोजगार कल्याण कोषको स्थापना गर्नुको साथै हालै जारी भएको संविधानमा गैर आवासीय नेपालीहरुलाई नागरिकता दिलाउँन पनि आफ्नो कार्यकाल सफल भएको अध्यक्ष घलेले दाबी गर्नुभएको छ । तर अझै पनि गैर आवासीय नेपालीहरुको अथाह सम्भावनालाई उजागार गर्दै विगत दुई वर्षमा संस्थाले अगाडि सारेका कार्यक्रम र योजनाहरुलाई पूर्णत दिनुपर्ने चुनौति भने बाँकी रहेको अध्यक्ष घलेको भिडियो अपिलमा उल्लेख छ ।

त्यसैका लागि अहिलेकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने विश्वभरिका एनआरएनहरुको भावनाको कदर गर्न पनि आफूले अध्यक्षमा उम्मेदवारी दिनुभएको उहाँको कथन छ । उहाँले विगतमा जस्तै विश्वभर छरिएर रहेका एनआरएनहरुको शक्ति र सम्भावनालाई एकीकृत गर्ने आफ्नो योजनामा सबैको साथ र समर्थन प्राप्त हुने अपेक्षा समेत गर्नुभएको छ ।

Comments