–बिभू श्रेष्ठ

नेपालीहरुको ठूलो चाड दशै नजिकिएसँगै आफ्नो घरगाउँ र परिवारबाट टाढा रहेकाहरु घर जाने सुरसारमा छन् । तर देशमा जारी नाकाबन्दी र मधेश बन्दका कारण भएको इन्धन अभाव भएपछि उपत्यकाबाट बाहिरिने सवारी साधानहरु पातलिदा घर जान पाउँने या नपाउँने अन्यौल थपिएको छ । यसबाट सर्वसाधारणको यसपटकको दशैं खल्लो हुने संकेत देखिएको छ ।

यसपटक धेरै जनाको दशैंमा घर जाने र परिवारजनसँग बसेर दशैं मनाउँने सपना अधुरै रहने देखिएको छ । दुई साता देखि जारी अघोषित सीमानाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव हुँदा राजधानीबाट उपत्यकाबाहिरका लागि छुट्ने सवारी साधानहरुमा कमी आउँदा धेरैको घर जाने योजना अधुरै रहने देखिएको छ । दशैंका लागि एक महिना अघि देखि नै बस सञ्चालकहरुले अग्रीम बुकिङ खुला गर्दै आएकोमा यसपटक भने दशैं आउँन दूई साता पनि बाँकी नरहँदा बुकिङ खुल्न सकेको छैन । पेट्रोलको अभावमा लामो दूरीका यातायात सञ्चालकहरुले अझै अग्रिम बुकिङ खोल्न नसक्दा यसपटक दशैमा घर जान पाउने नपाउने भन्नेमा अन्यौल थपेको रहेको धरान घर भइ काठमाण्डौ बस्दै आएका  जनार्दन कोइरालाले बताए ।
नेपाल आयल निगमले इन्धनको समस्या हल नगरुन्जेल लामो दूरीको यातायातले सेवा प्रदान गर्न नसक्ने यातायात ब्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारीको भनाइ छ । त्यसैले दशैलाई कुर्नुभन्दा काम नभए अहिलेबाट नै बिस्तारै काठमाण्डौ छाड्दै गरे सजिलो हुने उहाँको सुझाव छ ।

यातायातका सेवाहरु प्रभावित हुनुमा विद्यमान इन्धनको संकट मूख्य कारण हो । तर नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले अहिलेकै स्थितिमा दशैमा पनि इन्धन उपलब्ध गराउन सक्नेमा आशंका ब्यक्त गर्नुभयो ।
यता घर छाडेर कर्मथलो काठमाण्डौ बनाएकाहरु दिनानुदिन बस बुकिङ कहिले खुल्ला भन्ने पखाईमा बसिरहेका छन् । तर सरोकारवाला निकायहरु नै यसरी अलमलमा परेपछि सर्वसाधारणहरु मन खिन्न बनाउन बाध्य भएका छन् ।

Comments