काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले आफूले फेरि प्रधानमन्त्रीमा दाबी गरेको भन्ने टिप्पणी हल्ला मात्र भएको बताएका छन् ।

राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकारको आह्वान गरेको चौथो दिन सोमबार आफैँले डाकेको सर्वदलीय बैठकको सुरुमै कोइरालाले सहमति, सहकार्य र एकताबाटै अघि बढ्नुपर्ने भन्दै आफूले फेरि पनि प्रधानमन्त्रीमा दाबी गरेको विषय हल्ला भएको बताएका हुन् ।

‘हामीले शान्तिप्रक्रिया नेपाली मोडालिटीमा पूरा गर्‍यौँ । संविधान बनायौँ, यो ठूलो उपलब्धि हो । वार्ता, सहमति, सहकार्य र एकताबाट यो सम्भव भयो । आगामी दिनमा सहमतिबाटै अघि बढ्नुपर्छ,’ बैठकमा विषय प्रवेश गराउँदै कोइरालाले भने, ‘पत्रिकामा आएकोजस्तो फेरि पनि प्रधानमन्त्री बन्न लाग्यो भन्ने हल्ला गलत हुन् । सहमतिमा अघि बढ्नुपर्छ ।’

प्रधानमन्त्री कोइरालापछि संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूले धारणा राखेका थिए । उनीहरूले १६ बुँदे सहमतिका कारण दलीय सहमतिमा संविधान बनेको उल्लेख गर्दै फेरि पनि दलहरूलाई मिलेर जान सुझाब दिएका थिए ।

Comments

comments