काठमाडौं । नेपालमाथि भारतले लगाएको अघोषित नाकावन्दीलाई अन्ध समर्थन गरेको बहुसंख्यक भारतीय सञ्चार माध्यमहरुले शनिवार भारत सरकारवाट नेपालसंगको सीमाना सहज बनाउन निर्देशन दिएपछि तीखो आलोचना गरेका छन् । कतिपय भारतीय मिडियाले त मोदी सरकार नेपालसंग झुकेकोसम्म टिप्पणी गरेका छन् ।

भारतको सवै भन्दा बढी विक्री हुने दैनिक पत्रिका द टाईम्स अफ इन्डियाले नेपालको पूर्वी तराईमा जारी केही मधेस केन्द्रीत दलहरुको आन्दोलनलाई भारत सरकारले खुला समर्थन गर्नुपर्ने भन्दै सीमा नाका खुकुलो गरेर गम्भीर भूल गरेको आरोप लगाएको छ । भारत सरकार नेपालको अगाडि पराजित भएको भन्दै यसलाई भारतको कुटनीतिक असफलता भनि टिप्पणी गरेको छ ।

यस्तै भारतको अर्को चर्चित पत्रिका दैनिक जागरणले भारत सरकार विरुद्ध नेपालले पहिलो पटक संयुक्त राष्ट्र संघमा आवाज उठाएको भन्दै नरेन्द्र मोदी सरकारको नेपाल नीति असफल प्रायः भईसकेको उल्लेख गरेको छ । तराईमा जारी आन्दोलनलाई पूरै साथ दिन नसकेको भन्दै दैनिक जागरणले भारत सरकारको आलोचना गरेको  छ ।
भारतको हिन्दुस्तान पत्रिकाले नेपालले भारतलाई खुला चुनौती दिएको भन्दै भारत सरकारले आफ्ना चासोमा स्पष्ट अडान लिन नसकेको वताएको छ । नेपालमा भारत विरोधी जनमत बढ्न गई चीनको प्रभाव अत्याधिक हुन जाँदापनि भारत सरकारको ध्यान जान नसकेको हिन्दुस्तान पत्रिकाले उल्लेख गरेको छ ।

भारतको चर्चित अँग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले भारतको नाकावन्दीले नेपालमा आक्रोश बढाएको उल्लेख गर्दै सीमानाका खुकुलो गर्ने भारत सरकारको निर्णयले नेपाल सरकार बलियो भएको प्रमाण मिलेको उल्लेख गरेको छ ।
भारतका आज तक, एविपी न्यूज, एनडिटिभी, टाईम्स नाऊ लगायतका टेलिभिजन च्यानलहरुले पनि नेपालमा भारतको प्रभाव इतिहासकै न्यून भएको उल्लेख गरेका छन् । अघोषित नाकावन्दी भन्ने फेरि सीमा नाका सहज बनाउने जस्ता विवादास्पद वक्तव्यवाजीले मोदी सरकारलाई हल्का बनाएको उनीहरुको टिप्पणी छ ।

समग्रमा भारतका सवैजसो मिडियाहरुले नेपाल नीतिमा मोदी सरकार एक बर्षमै असफल र कमजोर हुन पुगेको निष्कर्ष निकालेका छन् । यसबाट भारतीय प्रभाव न्यून हुन गई चीन लगायत युरोपेली मुलुकहरु नेपालमा हावी हुन पुगेको उनीहरुको दाबी छ ।

नेपालमा भारत विरोधी जनमत इतिहासकै सवैभन्दा बढी भएको तर्फपनि भारतीय मिडियाले थुप्रै शव्दहरु खर्चिएका छन् ।

Comments