बाँके । नेपालगञ्ज र रुपडिया सीमानाकामा शनिबार आन्दोलनकारीबीचमै झडप भएको छ । एकपक्षले भारतीय दलाल र अर्कोले नेपाल सरकार र प्रहरीका सिआइडीर एजेन्ट भन्दै आपसमा भनाभनमा उत्रिएपछि केहीबेर सिमानाकामा स्थिति तनावग्रस्त बनेको हो ।  एकपक्षले सीमापारिबाट आन्दोलन गर्न हुन्छ र अर्कोले त्यसो गर्न हुन्न भनेर मत बाझिएपछि भनाभनमा उत्रिएका हुन् ।

मधेशी मोर्चाको नेतृत्व गरेका उपेन्द्र यादवको दलका नेता विजय गुप्ता र उनको टोलीका कार्यकर्ता भारतीय भूमीमा बसेर आन्दोलन गर्न अघिबढेपछि फोरम लोकतान्त्रिक पक्षले त्यसो नगर्न आग्रह गरेको थियो ।
नेपाली भूमिमै बसेर प्रदर्शन गर्ने फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष हिरालाल लोनियाले अडान लिएका थिए । भारतीय गुलामी गर्नेहरूले आन्दोलनलाई बदनाम गरेको दाबी गर्दै उनल आफूहरुले नेपालमै गिरफ्तारी दिउँ यतै कुटाइ खाउँ तर भारतको संरक्षणमा नलगौं भनेपछि आफूहरुमाथि जाइलागेको बताए ।

मोर्चाको टोलीले भारतीय सीमापारि पुगेर सामान लिन नाकामा पुगेका नेपाली ट्रकमा ढुंगा प्रहर गरेका थिए । भारत तर्फका सुरक्षा बल उनीहरूले ढुंगा हानिरहँदा पनि मुकदर्शक बनेको लोनियाले बताए । नेपाल प्रहरीले भने ढुंगा नहान्न भन्दै सीमावारीबाट इशारा गरेको उनले बताए ।

आन्दोलनलाई बदनाम गर्ने र भारतीय गुलामी गर्नेहरु भन्दै नेपाली भूमिमा बसेका फोरम लोकतान्त्रिकका कार्यकर्ता आक्रोशित बनेका थिए । लोकतान्त्रिकका जिल्ला नेता मिसवाउलहक अन्सारीले नेपाल भूमीमै बसेर आन्दोलन गर्न आग्रह गरेको तर अर्कोपक्षले नमानेको बताए ।

गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले नेपाली भूिममै बसेर आन्दोलन गर्नुपर्ने अडान लिएपछि संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्ता भड्केका हुन् ।

Comments

comments