काठमाडौं ।  १९ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनौट प्रतियोगितामा नेपाल इरानसँग खेल्दैछ । नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार शुक्रबार बेलुका सवा ९ बजे इरानको समेन अल एम रंगशालामा हुनेछ ।

इरान तुलनात्मक रुपमा बलियो भएपनि १९ वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधि जितिसकेकाले नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रदैछ । समुह इ मा रहेको नेपालले अरु खेलमा जोर्डन र कुवेतसँग खेल्नेछ । छनौट चरण पार गर्ने १६ टोलीले अर्को वर्ष बहराइनमा हुने १९ वर्षमुनिको एएफसी च्याम्पियनसिपमा खेल्न पाउनेछ ।  यस्तै शीर्ष चारमा पर्ने टोलीले सन् २०१७ मा दक्षिण कोरियामा हुने २० वर्षमुनिको फिफा विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले टोली खेलका लागि पूर्णरुपमा तयार रहेको बताउनुभएको छ । इरान एसियाको बलियो टोली भएपनि आफूहरु उसँगको खेलमा सकेसम्म राम्रो प्रदर्शन गर्ने तयारीमा रहेको प्रशिक्षक महर्जनको भनाई छ ।

इरानका खेलाडी प्राविधिक तथा शारीरिक रुपमा नेपाली खेलाडी भन्दा बलिया भएपनि आफूहरुले पनि तयारी राम्रो गरेको नेपाली टोलीले जनाएको छ ।

Comments

comments