मेलबर्न । भारतले नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दीको मेलबर्नमा पनि विरोध गरिएको छ । यहाँका स्थानीय नेपाली नेताहरुले विहीवार एनआरएनए भिक्टोरिया मार्फत ज्ञापनपत्र बुझाउँदै नाकाबन्दीको विरोध गरेका हुन् ।

ज्ञापनपत्र बुझाउँदै एनआरएनए भिक्टोरियाका अध्यक्ष केशव कँडेलले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेकोप्रति सबै नेपालीको विमति रहेको बताउँनुभयो । त्यसैले नेपालको आन्तरिक मामिलामा बाँजो नहाल्न भारत सरकारलाई आग्रह स्वरुप ज्ञापनपत्र बुझाइएको बताउँनुभयो । अध्यक्ष कँडेलले नेपालमा हालै जारी भएको संविधान सबैलाई चित्त नबुझेको भए वार्ता र सम्वाद मार्फत संशोधन गर्न सकिने बताउँनुभयो । तर भारतले नाकाबन्दी नै गरेर कुटनीतिक मर्यादा विपरित गएको कँडेलको भनाइ थियो ।

यस्तै एनआरएनए अष्ट्रेलियाका सदस्य नारायण काफ्लेले अघोषित रुपमा भारतले लगाउँदै आएको नाकाबन्दीले नेपालको जनजीवन ठप्प भएकोमा चिन्ता व्यक्त गर्दै यसको अन्त्यका लागि दबाब दिन ज्ञापनपत्र बुझाइएको बताउँनुभयो ।

Please follow and like us:

Comments