काठमाडौं । भारतीय जनताका प्रभावशाली नेता भगतसिंह कोशियारीले मधेसमा आन्दोलनरत समूह र दलका मागलाई सम्बोधन गरेर आन्तरिक राजनीतिक विषय मिलाउन दवाव दिनुभएको छ ।

पत्रकार ऋषि धमलासँग आज (बुधबार) एउटा रेडियो कार्यक्रममा कुरा गर्दै कोशियारीले आन्दोलनरत समूहको मागलाई सरकारमा रहेका दलहरूले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले संविधान जारी भएको विषय राम्रो भए पनि असन्तुष्ट पक्षको मागलाई सम्बोधन नगर्दा त्यसले तराईका जिल्लाहरूमा प्रदर्शन र हिंसा भएको बताउनुभयो ।

‘नेपालमा अशान्ति हुँदा त्यसको प्रभाव भारतमा पर्छ’, भाजपाका नेता कोशियारीले भन्नुभयो, ‘नेपालमा माओवादीले बन्दुक उठाउँदा र भूकम्प आउँदा भारत दुखित भएको छ ।’ उहाँले विद्रोह र अशान्तिले भारत सधैँ चिन्तित रहने उल्लेख गर्नुभयो । नेपालमा संविधान आइसकेको अवस्थामा असन्तुष्टका मागलाई फेरि पनि सम्बोधन गर्न सकिने नेता कोशियारीको भनाइ थियो । नेपालको संविधानमा आफूहरूको कुनै विमति नरहेको बताउनुभएका भाजपा नेता कोशियारीले भन्नुभयो, ‘अरु विदेशीले संविधानमा समर्थन गर्दा तपाईहरू खुसी हुने तर भारतले केही असन्तुष्ट पक्षका मागलाई पनि ध्यानमा राख्नभन्दा असन्तुष्टि जनाउने यो त भएन नी ? छिमेकीको सुझाव पनि मान्नु पर्छ ।’

उहाँले आन्दोलनरत मधेसी दलका नेताहरूलाई वार्ता र सम्वादमा बसेर निकास खोल्न सुझाव दिनुभएको छ । ‘आफ्नो आन्तरिक विषयमा आफै निकास खोज्नुस्’, भाजपा नेता कोशियारीले भन्नुभयो, ‘मधेसी दल र तिनका नेताहरूले वार्ता गर्नुपर्छ । सम्वाद गर्नुपर्छ । आन्दोलन र खुनखराब गर्नु हुँदैन ।’ नेपालको अशान्तिबाट नेपालका मान्छे शरणार्थीका रुपमा भारतमा आउने हुन् की भन्ने चिन्ता भारत सरकारलाई रहेको भाजपा नेता कोशियारीले बताउनुभयो । ‘नेपालको अशान्तिले भारतमा शरणार्थीको समस्या आउन सक्छ’, उहाँले भन्नुभयो, ‘हामी यस विषयमा सर्तक छौँ । तयारी गर्नुपर्छ । सिरियाका मान्छे पनि शरणार्थी बनिरहेका छन् । जर्मनीमा गएका छन् । नेपालमा त्यो समस्या नआउला भन्न सकिँदैन ।’

नेपालमा हिंसा मच्चिएपछि नेपालीहरु पनि भारतमा शरणार्थी हुन सक्ने भएकाले नाका बन्द गर्नुको विकल्प नरहने उहाँले बताउनुभयो । तर, नेपाललाई नाकाबन्दी लगाउने विषयमा आफूलाई कुनै जानकारी नरहने भाजपा नेता कोशियारीको भनाइ थियो । ‘नाकाबन्दी लगाउने नलगाउने भन्ने विषयमा भारत सरकारले भन्छ’, उहाँले भन्नुभयो, ‘मलाई यस विषयमा जानकारी छैन ।’

नेपालको राजनीतिक उथलपुथल हुँदा काठमाडौं आउने गरेका भाजपाका नेता कोशियारी नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग सम्पर्कमा रहँदै आउनुभएको छ । उहाँले आफू छिट्टै नेपाल आउन चाहेको पनि बताउनुभएको छ ।

Comments

comments