काठमाडौं । देशमा नयाँ संविधान बनेपछि मुलुकभर अर्कै महोल बनिरहेको छ । छिटफुटलाई छोडेर अधिकांशले नयाँ संविधानको भव्य स्वागत गर्दै खुशीयाली मनाइरहेका छन् ।

तर संविधान सोचेभन्दा चाँडो बनिदिएपछि बेखुशी हुने पनि केही भेटिएका छन् । त्यसरी बेखुशी हुनेमा यही शुक्रवारदेखि रिलिजको तर्खरमा रहेको नयाँ फिल्म ‘चंखे शंखे पंखे’ को टिम पनि एक रहेको छ । चलचित्रमा नेताहरुको प्रवृत्तिका कारण मुलुकको राजनीति नै ठप्प बनिरहेको र जनताले ६५ वर्षदेखि प्रतीक्षा गर्दै आएको संविधान पनि बन्न नसकिरहेको कथा ‘चंखे शंखे पंखे’ मा रहेको बुझिएको छ । तर फिल्म रिलिज हुनु अघि नै संविधान बनिदिएपछि फिल्मको विषय थेत्तरो र वासी हुन पुगेको छ । ‘तपाई हाम्रो बारेमा सोच्दै हुनुहुन्छ, हामी देशको बारेमा सोच्दै छौ’ भन्ने नारा  बोकेको यो फिल्मले देशको परिस्थिती र यूवाहरुमा मौलाउँदै गएको दिकदारीको कथालाई उठान गरेको बताइएको छ । यो फिल्म असोज ८ गतेबाट चल्दैछ । तर, असोज ३ अर्थात आज नेपालमा नयाँ संविधान जारी भएको छ र नेताहरुले जनताको स्यावासी पाइरहेका छन् । यो मेसोमा असोज ८ गतेबाट चल्ने फिल्म ‘चंखे शंखे पंखे’लाई लिएर विभिन्न खालका अड्कल काट्न थालिएको हो ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा उनीसँगै पूजा शर्मा, सुवास थापा,प्रेम पुरी मुख्य भूमिकामा छन् । यही कथाका लागि निर्माता सन्तोष सेनले करोड भन्दा माथिको बजेट खन्याएका छन् । उनको बजेट उठ्नका लागि ४ करोड हारहारीको व्यापार फिल्मले गर्नुपर्छ । तर देशको बदलिदो परिस्थितिले चंखेले त्यत्ति धेरैको व्यापार गर्नेमा आशंका बढ्दै गएको छ ।

फिल्मको ट्रेलर हेरिसकेपछि यो फिल्म पनि हिन्दी फिल्म रंग दे वसन्तीको नेपाली भर्सन हो कि भनेर अनुमान पनि गर्न थालेका छन् । यसले गर्दा पनि ‘चंखे शंखे पंखे’ प्रदर्शनको छेकोमा आएर शंकाको घेरामा पर्न थालेको छ  ।

Comments

comments