मेलबर्न । नेपालमा संविधान जारी भएको खुशीयालीमा अष्ट्रेलियामा रहेका नेपाली समुदायले पनि ठाउँ ठाउँमा दीप प्रज्ववल सहित संविधानको भव्य स्वागत गरिरहेका छन् ।

यसैक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले नेपालमा संविधान जारी भएको खुशीयालीमा चियापानसहित दिप प्रज्वलन र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ग्रानभिलको एक रेष्टुरेन्टस्थित हलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का हुनुहुन्थ्यो । यसैगरी अतिथिको रुपमा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक विष्णु हमाल, एनआरएन न्यू साउथवेल्स संयोजक एवं उपाध्यक्ष दिनेश पोखरेल, होम पाण्डे लगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले देशले निकै लामो समयपछि सहमति पाएकोमा खुशी व्यक्त गर्दै दलहरुले देखाएको एकतालाई व्यवहारमा उतारेर अब विकास निर्माणको चरणमा देशलाई लैजानुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले अझै पनि संविधानमा चित्त नबुझेका कुराहरु वार्ता र सहमतिको माध्यमबाट सच्याउन सकिने भन्दै असन्तुष्ट पक्षहरुका जयज मागहरुलाई पूरा गर्दै जानुपर्ने बताएका थिए ।

देशमा युगौंदेखिको जनताले संविधान लेख्ने सपना पूरा भएकोमा प्रवासी नेपालीहरु खुशी र ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

Comments

comments