काठमाडौँ । सभाध्यक्ष सुवास नेम्वाङबाट प्रमाणीकरण भएको नेपालको संविधान, २०७२ लाई जनतासमक्ष घोषणा गर्ने ऐतिहासिक कार्यक्रमका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ । यसका लागि संबिधान सभा परिषर अहिले बेहुली झैं सिंगारिएको छ ।

गत भदौ ३० गतेको संविधानसभाबाट पारित तथा यही असोज १ गते सभासद्को हस्ताक्षरपछि सभाध्यक्षबाट प्रमाणीकरण गरिएको संविधान आइतबार साँझ ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संविधानसभाको बैठकमा सोही दिनदेखि लागू भएको घोषणा हुनेछ । सभाको बैठकलाई औपचारिक राष्ट्रिय समारोहका रुपमा मनाउन सचिवालयले तयारी गरेको छ ।

सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार सभासद्को हस्ताक्षर र अध्यक्षले प्रमाणीकरण गरेको नेपाली कागजमा मुद्रित संविधानको पृष्ठ ३५० मा राष्ट्रपति डा रामवरण यादवले हस्ताक्षर गरी संविधान जारी भएको घोषणा गर्नुहुनेछ ।

सचिवालयले समारोहस्थलको सरसफाइ र सजावट तथा अन्य व्यवस्थापन गरिसकेको छ । सोका लागि सुरक्षा व्यवस्था पनि मजबुत बनाइने भएको छ ।

“संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालका संविधान असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु ” भन्ने बेहोरामा राष्ट्रपति डा यादवले हस्ताक्षर र त्यसको घोषणा गर्नुहुनेछ । राष्ट्रपति डा यादवलाई सभाध्यक्ष नेम्वाङले पारित संविधान पेस गर्नुहुनेछ ।

सचिवालयले मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, पूर्वसभासद्, सरकारका उच्च अधिकारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक क्षेत्रका प्रतिनिधिलगायतलाई निम्तो दिएको छ ।

संविधान जारि भएको खुशियालीमा संविधान सभाध्यक्ष नेम्वांगले भोलि साँझ नै रात्रीभोजको आयोजना गर्नुहुनेछ  ।

Please follow and like us:

Comments