रिया भण्डारी,काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको आफ्नै मौलिकता रहेको छ  । तीजको रौनक बढेसंगै सर्वत्र रातो पहिरनका महिलाहरु, गीत भजन र नाचगान अनि दरको सन्दर्भहरु सुनिन्छन् ।  हरितालिका तीजको दिन ब्रत बस्ने भन्दै महिलाहरु आजको रात दर खाने गर्दछन् ।  आज राति दर स्वरुप खाइने विभिन्न परिकार शरीरको लागि कत्तिको उपयुक्त छ भन्ने कुरामा धेरै महिलाहरुले सजगता देखाएको भेटिदैन । चिकित्सका अनुसार स्वास्थ्य अवस्था सामान्य नरहेको मानिसले ब्रत बस्न हतार गर्नुपनि हुदैन ।

हरितालिका तीज आफु भोकै बसी आफ्नो श्रीमानको दिर्घायुको कामना गर्ने दिन । सामान्य अवस्थामा भोकै बस्नु ठीकै होला । तर शारिरीक अवस्था ठिक नभएका मानिसहरु पनि निराहार बस्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । दर खाने दिन अर्थात तीजको अघिल्लो दिन शरीरलाई आबश्यकता भन्दा बढी खाने र भोलिपल्ट हरितालिका तीजको दिन निराहार ब्रत बस्नाले फुड पोइजनिङग समेत हुन सक्ने डा .बिनिता पन्तको कथन छ ।

पानी पनि नपिई व्रत बसेर नाँचगान गर्दा शरीरबाट पसिना निस्कन्छ र पानीको मात्रा कमी भएर डिहाइड्रेसन हुन सक्छ जसले गर्दा कतिपय महिलाहरू नाचगान गर्दागर्दै ढल्छन् । त्यसैले तीजका दिन अन्न नखाए पनि फलफूल तथा पानी सेवन गर्नु आबश्यक रहेको विशेषज्ञको भनाई छ ।  धेरैजसो नेपालीमा ग्यास्ट्रिकको समस्या छ । ग्यास्ट्रिकका रोगी भोकै बस्दा स्वास्थ्यमा असर पर्छ । त्यसैले ग्यास्ट्रिकका रोगीले औषधि खाइरहेको अवस्थामा व्रत बस्नुअघि फलफूल तथा चिया खाएर मात्र व्रत बस्नु उत्तम हुन्छ । यसैगरी मधुमेहका बिरामी भोकै बस्दा स्वास्थ्यमा असर पर्छ । मधुमेहका बिरामीले इन्सुलिन लिइरहेको अवस्थामा व्रत बस्नु हुँदैन । यस्ता बिरामी व्रत बस्दा रगतमा सुगरको मात्रा कम भएर हाइपोग्ल्यासिमिया हुन सक्छ । बिरामी अचेत भएर कतिपय अवस्थामा कोमामा समेत जान सक्छन् । गाह्रो भए सुगर सिरप तथा क्यान्डी खानुपर्छ । यसैगरी उच्च रक्तचाप भएकाहरू पनि पानी नपिई व्रत बस्दा डिहाइड्रेसन हुन्छ । शरीरमा एक किसिमको तनाव हार्मोन रिलिज भएर रिस उठ्छ । यसैगरी रक्तचाप घट्ने एवं मुुटुको धड्कन बढ्ने हुन्छ । धेरै महिलालाई व्रत बस्दा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ । डिहाइड्रेसनका कारण पनि टाउको दुख्छ । त्यसैगरी गर्भवती महिलाहरूले पनि व्रत बस्नु हुँदैन । कतिपय महिला तीजका दिन निराहार व्रत बसेर भोलिपल्ट मात्र खान्छन् । भोको पेट मा सुरुमै गह्रौ खाना खानु हुदैन, त्यसैले कालो चिया तथा जुस खाएर मात्र अन्य खानेकुरा खानु उचित हुन्छ ।

शास्त्रमा निराहार व्रत बस्नुपर्ने कुरा कतै उल्लेख छैन । त्यसैले फलाहार गरेर तीजको व्रत बस्नु उत्तम हुन्छ । चाडपर्वमा हामीले आफ्नो स्वस्थ्यलाई बेवास्ता गर्दा बिरामी परिएला । स्वास्थ्यलाई पनि ध्यान दिएर तीज मनायो भने मात्र तीज मनाउनु को मज्जा सदा रहिरहने छ ।

Please follow and like us:

Comments