सृजना थापा,काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शनमा आउने दर्शनार्थीहरुको सेवा सुविधाकोलागि सम्पूर्ण तयारी पूरा भएको वताएको छ । कोषले विगतको वर्षहरुमा भन्दा यस वर्ष अझ फरक शैलीमा व्यवस्थापन गरिएको दाबी गरेको छ ।

तीजको दिन हजारौं हिन्दू महिलाहरु दर्शनका लागि पशुपतिनाथको मन्दिरमा पुग्ने गर्दछन् । यस परिस्थितिलाई मध्यनजर गर्दै पहिलेका बर्षहरुमा जस्तै यस बर्ष पनि पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीहरुले सहजरुपमा दर्शन गर्न पाऊन भन्ने उद्धेश्यले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । तयारीवारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा धारणा राख्दै विकास कोषका सदस्य–सचिव डा. गोविन्द टण्डनले दर्शनार्थीहरुलाई सहज होस भनेर पहिलेका बर्षहरुमा भन्दापनि यस पटक आधुनिकढङ्गले तयारी गरिएको दावी गर्नुभयो ।

सदस्य सचिव टण्डनका अनुसार उमाकुण्ड, भुमनेश्वरी र गौशालावाट लाईनको व्यवस्था गरिएको छ भने सशुल्क टिकट लिने दर्शनार्थीलाई कोषको कार्यालयमा सम्पर्क गरी कार्यालयबाट कर्मचारीले साथै लगी दर्शन गराउने व्यवस्था मिलाईएको छ ।

दर्शनार्थीको सेवा सुविधकोलागि सुरक्षा व्यवस्थाको बलियो प्रवन्ध गरिएको छ भने सयौं स्वयसेवकहरुले स्वयम्सेवाको भूमिका निभाउँनेछन् । यस्तै स्वास्थ्य तथा सरसफाईको समेत राम्रो प्रवन्ध गरिएको कोषले जनाएको छ । ०००

Comments