–बुद्धि शर्मा

संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा शीतल निवास र संविधानसभाको दुरी बढेको महसुस गरिन थालिएको छ । राष्ट्रपतिले संविधान निर्माणको क्रममा देखाएको असन्तुष्टिप्रति बिभिन्न दलका नेताहरुले संविधानसभाको वैठकबाट नै जवाफ दिन थालेपछि शीतल निवास र संविधानसभाको दूरी बढेको सतहमा नै देखिएको छ । तर राष्ट्रपति निकटका व्यक्तिहरु भने संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले केही चासो राखेपनि ठूलो मुद्दा नै बनाउनु उचित नहुने धारणा राख्छन् ।

केही समय यता नेपालका सञ्चार माध्यमहरुमा प्रमुख दलहरुले शुरु गरेको संविधान निर्माण प्रक्रियावारे राष्ट्रपति रामवरण यादवले व्यक्त गरेको असन्तुष्टि भन्दै थरि थरिका समाचार एवं टिप्पणीहरु प्रकाशित भए । सञ्चार माध्यममा व्यापकरुपमा आएका ती कुराहरुको आधार थियो राष्ट्रपति यादवले प्रमुख दलहरु तथा सीमाङ्कनको विरोधमा रहेका असन्तुष्ट दलहरुका मुख्य नेताहरुसंग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा गरेका भेटघाट र कुराकानी साथै राष्ट्रपतिवाट व्यक्त असन्तुष्टिहरु । संविधानको प्रकृति र सहज प्रावधानका कारण पनि यो अन्तिम संविधान होइन भन्ने कुनै गाह«ो पर्दैन । कुनैपनि अवस्थामा संसोधन गर्न सकिन्छ । यस कुरालाई बुझेरपनि राष्ट्रपति यादवले संविधानले नदिएको अधिकार प्रयोग गरी संविधान निर्माणमा अनधिकृतरुपमा प्रवेश गर्न खोजे त्यो कदापी उचित होईन । यी कुरालाई आधार मान्दै मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभामा राष्ट्रपति यादव विरुद्ध आक्रोस पोखे ।

यतिखेर राष्ट्रपतिले कुनै एक पक्षलाई समर्थन गर्दै उनीहरुका मागहरुलाई सम्वोधन गर्नु पर्ने, संविधान निर्माणमा हतार गर्न नहुने तथा अनावश्यक व्यक्तिहरुसंग संविधानका मुद्यामा छलफल गर्नु संविधानले राष्ट्रपति पदलाई दिएको मर्यादा अनुकुल भएन भन्ने आवाज बलियो बनेको छ । राष्ट्र प्रमुख तथा संविधानका संरक्षकको नाताले राष्ट्रपतिले सवैलाई संयम हुन आग्रह गर्नु तथा संविधान चाँडै बनोस भनेर कामना गर्नु नै बुद्धिमतापूर्ण हुने छ। विश्वका कुनै लोकतान्त्रिक संविधान पूर्ण सहमतिमा बनेको छैन् । अझ लोकतन्त्रमा विपक्षीविनाको पूर्ण सहमति खोज्नु लोकतान्त्रिक मान्यता अनुकुल मानिदैन् । आफ्नो कार्यकालमा कमै विवादमा आएका  राष्ट्रपतिले यो समयमा संविधान अुनुकुल भूमिका निर्वाह गर्दै संविधान निर्माण प्रक्रियालाई थप हौसला प्रदान गर्नु नै मुलुक र जनताको हितमा हुनेछ ।

Please follow and like us:

Comments