काठमाडौं । आज सुदूरपश्चिम क्षेत्रमा ठूलो पर्व गौरा धुमधामका साथ मनाईदैछ ।  चार दिन अघि भाद्र कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व आरम्भ भएकोमा आज अष्टमीका दिन अठवाली मनाएर यो पर्व धुमधामका साथ मनाईदैछ ।

गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको थालनी गरेका थिए । त्यस दिन त्यस क्षेत्रका महिलाले गहूँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ । पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरा देवि अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहुर्तमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्रयाएर पूजा–अर्चना गरि महिलाहरुले दुबो धागो चढाउने गर्छन । आज गौरा अष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल) मा पूजाआजा गर्छन । गौरा पर्वको प्रमुख आकर्षण डेउडा हो । डेउडामा पौराणिक कथा, देवि देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ ।

केही वर्षदेखि सुदुरपश्चिबाट काम बिशेषले काठमाण्डौ आएका र काठमाण्डौ बस्नेहरुले टुडिखेलमा सामूहिक गौरा पर्व मनाउदै आएका छन् ।

Comments

comments