एजेन्सी । पछिल्लो समय धेरै देशहरुमा सीमा विवाद दुश्मनीको प्रमुख कारण बन्दै आएको छ । छिमेकी मुलुक भारत र पाकिस्तानबीच सीमाकै कारण पटक पटक युद्ध हुँदै आएको । सीमा क्षेत्रको टापुलाई लिएर चीन र जापानबीचको सम्बन्ध पनि राम्रो छैन । नेपाल पनि भारतको सीमा अतिक्रमण नियतबाट बेला बेलामा पीडित हुँदै आएको छ । तर संसारमा त्यस्तो ठाउँ पनि छ जहाँका सीमा क्षेत्रका व्यक्तिहरुको घर दुवै देशमा पर्दछ । सीमा क्षेत्रमा बनाइएका त्यस्ता घरहरुमा घरभित्रै बोर्डर लाइन कोरिएका छन् । यो प्रसँग हो निदरल्याण्ड र बेल्जियमको सीमा क्षेत्रको । यी दुई मुलुकको सीमा क्षेत्रको एउटा शहरमा बनेका घर दुवै देशमा पर्ने भएपछि घरभित्रै सीमांकन गरिएको हो । अनौठो त के छ भने यसरी दुवै देशको भूमिमा पर्ने घरका घरधनीको नागरिकता त्यस घरको मुल ढोकाको आधारमा तय गरिदै आएको छ । अर्थात घरको मुल ढोका जुन देशपट्टि फर्किएको छ,त्यो घरको मालिक त्यही देशको नागरिक हुने सहमति भएको थियो ।

घरमा मात्र होइन बीच सडकमै समेत सीमा क्षेत्र कोरिएको छ । तर दुवै देशको सहमतिमा त्यहाँ न कुनै तारबार लगाइएको छ न त सीमा सुरक्षाबल नै खटाइएको छ । सीमा क्षेत्रका नागरिकहरुलाई दुवै देशमा  प्रवेशको लागि पनि कुनै रोकटोक लगाइएको छैन ।

तर दुवै देशको फरक फरक कानूनी प्रावधान हुँदा भने समस्या पर्ने गरेको थियो । जस्तो निदरल्याण्डमा धेरै समयसम्म आइतवार विदाको दिन एकदिन पसल खोल्न निषेध थियो । यस्तोमा सँगैको पसल बन्द हुँदा उपभोक्ताहरु मारमा पर्थे । त्यस्तै बेल्जियममा रेष्टुराँहरु बेलुकी चाँडै बन्द गर्नुपर्ने कानूनी व्यवस्था थियो । यसले केही असहज बनाइदिन्थ्यो ।
दुई देशबीचको यस्तो अनौठो र मैत्रीपूर्ण सीमानीतिका कारण उक्त क्षेत्र अहिले लाखौं पर्यटकहरुको प्रमुख गन्तव्य बन्दै आएको छ ।

१८३९ मा दुई देशले पहिलोपटक सीमा क्षेत्र निर्धारणको प्रयास गरेको थियो । तर त्यसपछि पनि पटक पटक यसबारेमा वहस हुँदा समेत कसरी जाने ? भन्नेमा विवाद र अन्यौलता भइरहेको थियो । तर सन् १९९५ मा आएर भने बनिसकेका घरभित्रै सीमारेखा कोर्ने गरी दुवै देश सहमत भएका थिए ।

2  43

Comments

comments