काठमाडौँ । ‘मै ठूली भैछु रे, आइदेऊ घुम्टी ओढाइदेऊ…’ गीतले रेश्मा सुनुवारलाई नेपाली संगीत बजारमा स्थापित गराइदियो । गायनमा सफल भए पनि एक छोराकी आमा रेश्माको पहिलो प्रेम, वैवाहिक सम्बन्ध सफल हुन सकेन । पहिलो प्रेमबारे घरमा थाहा भएपछि रेश्माले आत्महत्याको प्रयाससमेत गरिन् । रेश्मा मर्न चाहन्थिन्, तर उनको मृत्युको परीक्षामा काल नै हार्‍यो । रेश्मासँग  मृत्युबारे सोध्दा यसो भन्छिन् :

मृत्युलाई सहजै स्वीकार्न त साधुसन्तले मात्रै सक्नुहोला । अनेक लालसा भएका हामीजस्ता सामान्य मान्छेलाई मृत्युदेखि डर लागिहाल्छ । तर, मृत्यु निश्चित छ । कहिले भन्ने त कसलाई थाहा हुन्छ र ? जे होस्, म अरूलाई दु:ख नदिई मर्न पाउँ भन्ने चाहन्छु ।

म नौ कक्षा पढ्थेँ । ‘लभ’ परेको थियो ।

घरमा बुबाआमाले थाहा पाउनुभएछ । नराम्रोसँग पिट्नुभयो । मलाई मर्न मन लाग्यो । नजिकैको किराना पसलबाट मुसा मार्ने विष किनेर ल्याएँ । आठ रुपैयाँको चार चक्की । कसैले नदेख्ने गरी छतमा गएँ । पानीमा घोलेर खाएँ । त्यसपछि तल आएर घुप्लुक्क सुतेँ । केही बेरमै भोमिट भयो । सायद भोमिटसँगै विष पनि बाहिरियो, म मरिनँ । मर्छु भन्दा पनि कालले लगेन । केटाकेटी वेलाको त्यो घटना सम्झिँदा डर लाग्छ ।
करिब चार वर्षअघि परराष्ट्रबाट पासपोर्ट बनाएर स्कुटीमा घर फर्किंदै थिएँ । केशरमहल चोकमा मिनीटाटाले ‘ओभरटेक’ गर्‍यो । म अर्को लेनमा उछिट्टिएँ । धन्न † त्यो लेन खाली थियो । नत्र के हुन्थ्यो होला, यसै भन्न सक्दिनँ । अनुहार, गोडा र हातमा भने चोट लाग्यो । लामो समयसम्म दु:ख दियो ।

०००
एकपटक म ठूलो बोइङमा यात्रा गरिरहेकी थिएँ । बोइङभित्र धेरै यात्रु थिए । उडिरहेको बोइङ एकाएक खस्यो । थानकोटको गल्छीतिर होजस्तो लाग्छ । दुर्घटनामा सबै यात्रु मर्‍यौँ । मेरो आत्मा एकैछिनमा घरमा पुग्यो । घरमा काम गर्ने भाइले आन्टी चिया लिनुस् भन्दा पो झसंग भएँ । निद्राबाट ब्युँझेर सोधेछु, ‘म मरिसकेको हैन र ?’

०००
बुबाको जागिर सरुवा भएसँगै मेरो सात कक्षाको पढाइ सप्तरीको कञ्चनपुरमा भयो । हामी केही मिल्ने साथीहरू स्कुल जाँदा र घर फर्किंदा कागजको डुंगा बनाएर सडकछेउको नहरमा बगाउने गथ्र्यौँ । एक दिन खेल्दाखेल्दै साथी निलेशलाई गाडीले ठक्कर दियो । ऊ ढल्यो । सुरुमा निलेश जिउँदै थियो, पछि ड्राइभरले गाडी ब्याक गरेर किचिदियो । आँखैअघि साथीको मृत्यु भयो ।

०००
आइसियुमा उपचार भइरहँदा आमा बित्नुभयो । कान्छी बहिनी सानै थिई, उसलाई आमा जिउँदै हुनुहुन्छ भन्ने लागेछ । अन्जान उसले मरेकी आमालाई बोलाई । म खप्न नसकी बाहिर निस्किएँ । बहिनी पछि–पछि आएर सोधी, ‘दिदी आमा बित्नुभएको हो र ?’ मेरो रुवाइमा डाँको निस्कियो । सबैभन्दा बढी आँसु आमाको मृत्युमा बग्यो ।

०००
मलाई मर्नुअघि तीन काम गर्ने चाहना छ । पहिलो, आफ्नो ‘कल्चर’को ‘रिसर्च’ गर्ने । दोस्रो, फेरि बिहे गर्ने । र तेस्रो, छोराले बुहारी भित्र्याएको हेर्ने । यी तीन कुरा पूरा भएपछि मेरो मृत्यु साथीभाइलाई ‘जोक’ सुनाइरहेको वेला पूरै फिल्मीशैलीमा भइदिओस् भन्ने चाहन्छु ।

Comments

comments