काठमाडौं । चिकित्सा शिक्षा र सेवाका विकृति हटाउन तथा माथेमा प्रतिवेदन लागु गर्न माग गर्दै आमरण अनसनरत डा.गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

विहीवार अपरान्ह सरकार र डा. के.सीका प्रतिनिधिबीच वार्ता भए पनि सरकारको प्रस्ताव आफूलाई स्वीकार्य नहुने भन्दै डा. के.सी.ले अनसन यथावत राख्ने अडान लिनुभएको छ ।

वार्तामा सरकारका तर्फबाट योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल केसीका सहयोगीहरुसँग वार्ता गर्न त्रि.बि. शिक्षण अस्पताल पुगेका थिए । प्रधानमन्त्री सुशील कोइराला, स्वास्थ्यमन्त्री खगराज अधिकारी र सरकारमा एमालेको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री वामदेव गौतमको अख्तियारी लिएर पोखरेलले वार्ता गर्न गएको बताइएको छ । वार्तामा डा. केसी पक्षबाट जीवन क्षेत्री, त्रिवी चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. राकेशप्रसाद श्रीवास्तव, भगवान कोइराला लगायत सहभागि थिए । डा. केसीका सहयोगीहरुले वार्ता सकारात्मक रहे पनि टुङ्गोमा पुग्न भने नसकेको जानकारी दिएका छन् । डा. केसीले भने सरकारको प्रस्ताव अस्वीकार गर्दै माथेमा आयोगको पूर्ण कार्यान्वयनको अडान लिएको वार्तामा सहभागी जीवन क्षत्रीले जानकारी दिए ।

केसीको आन्दोलनवारे सरकारसंगको वार्ता जारी राखिने चिकित्सकहरुले बताएका छन् । यसअघि, सरकारले सरोकारवाला मन्त्रालयहरुको नाममा मङ्गलवार माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिदैं अनशनरत डा. केसीलाई अनशन स्थगित गर्न पनि के.सीले अस्वीकार गरेका थिए । केसीको अनशनको एघारौं दिन पुगेपछि विहीवार सरकारको तर्फवाट औपचारिक संवादको थालनी भएको हो ।

Comments

comments